npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

चीनको व्यापार कारोबार वृद्धिमा कीर्तिमान, ट्रम्पको ट्यारिफ छिचोल्दै करिब १.२ ट्रिलियन डलर

Bhim Ghimire 18 hours ago

हङकङ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क कडा बनाउँदा पनि चीनको व्यापार २०२५ मा करिब १.२ ट्रिलियन अमेरिकी डलर पुगेर कीर्तिमान कायम भएको सरकारी तथ्यांकले बुधबार देखाएको छ। अमेरिकातर्फ निर्यात घटे पनि अन्य देशतर्फको निर्यातले त्यसलाई भरपर्दो रूपमा पूर्ति गरेको हो।

भन्सार प्रशासनका अनुसार चीनको कुल निर्यात २०२५ भरि ५.५ प्रतिशत बढेर ३.७७ ट्रिलियन डलर पुगेको छ। चिनियाँ सवारी निर्माता तथा अन्य उद्योगहरूले विश्वका विभिन्न बजारमा विस्तार गरेसँगै निर्यात बढेको हो। आयात भने २.५८ ट्रिलियन डलरमै लगभग स्थिर रह्यो। सन् २०२४ मा चीनको व्यापार ९९२ अर्ब डलरभन्दा बढी थियो।

डिसेम्बरमा चीनको निर्यात अघिल्लो वर्षको सोही महिनाको तुलनामा डलर मूल्यमा ६.६ प्रतिशत बढ्यो, जुन अर्थशास्त्रीहरूको अनुमानभन्दा राम्रो र नोभेम्बरको ५.९ प्रतिशत वृद्धिभन्दा पनि उच्च हो। सोही महिनामा आयात ५.७ प्रतिशतले बढ्यो, जुन नोभेम्बरको १.९ प्रतिशत वृद्धिभन्दा उल्लेखनीय रूपमा बढी हो।

नोभेम्बरमै चीनको व्यापार अधिशेष पहिलो पटक १ ट्रिलियन डलर नाघेको थियो, जब अघिल्लो ११ महिनामा मात्र कारोबार १.०८ ट्रिलियन डलर पुगेको थियो।

अर्थशास्त्रीहरूले व्यापारिक तनाव र भूराजनीतिक चुनौतीबीच पनि यस वर्ष चीनको अर्थतन्त्रलाई निर्यातले नै जित्ने अपेक्षा गरेका छन्। बीएनपी परिबासकी प्रमुख चीन अर्थशास्त्री ज्याक्लिन रङले भनिन्, ‘२०२६ मा पनि निर्यात चीनको आर्थिक वृद्धिको ठूलो भर रहने अपेक्षा गर्छौं।’

ट्रम्प पुनः सत्तामा आएर चीनविरुद्ध व्यापार युद्ध चर्काएपछि अमेरिकातर्फ चीनको निर्यात तीव्र रूपमा घटे पनि दक्षिण अमेरिका, दक्षिण–पूर्व एसिया, अफ्रिका र युरोपका बजारतर्फको निर्यातले त्यसको असर धेरै हदसम्म सन्तुलित गरिदिएको छ।

२०२५ भरि चीनको अमेरिकातर्फको निर्यात २० प्रतिशत घट्यो। यसको विपरीत, अफ्रिकातर्फको निर्यात २६ प्रतिशतले बढ्यो। दक्षिण-पूर्व एसियातर्फ १३, युरोपेली संघतर्फ ८ र ल्याटिन अमेरिकातर्फ ७ प्रतिशतले निर्यात बढ्यो।

विश्लेषकहरूका अनुसार कम्प्युटर चिप्स र अन्य इलेक्ट्रोनिक उपकरण तथा तिनको उत्पादनका लागि आवश्यक सामग्रीको विश्वव्यापी माग बलियो रहनुले चीनको निर्यातलाई टेवा दिएको हो। इलेक्ट्रोनिक्स र विद्युतीय उपकरण सबैभन्दा ठूलो निर्यात श्रेणी बने, जसको निर्यात अघिल्लो वर्षको तुलनामा ८.४ प्रतिशतले बढ्यो।

कार निर्यात पनि उल्लेखनीय रूपमा बढ्यो। चीन अटोमोबाइल उत्पादक संघका अनुसार २०२५ मा सवारीसाधन निर्यात २१ प्रतिशतले बढेर ७० लाख युनिटभन्दा बढी पुगेको छ, जसमा विद्युतीय र प्लग-इन हाइब्रिड गाडीको प्रमुख भूमिका छ।

चीनले अन्न र मलको निर्यात पनि बढाएको छ भने फर्निचर, जुत्ता जस्ता श्रममा आधारित उत्पादनको निर्यात घटेको छ।

बलियो निर्यातले चीनको अर्थतन्त्रलाई वार्षिक करिब ५ प्रतिशतको सरकारी लक्ष्य नजिकै राख्न मद्दत गरेको छ। तर यसले सस्तो आयातको बाढीले आफ्ना घरेलु उद्योगलाई असर पार्ने डर भएका देशहरूमा चिन्ता पनि बढाएको छ।

चीनको भन्सार प्रशासनका उपमन्त्री वाङ जुनले २०२६ मा बाह्य व्यापार वातावरण गम्भीर र जटिल हुने बताए पनि चीनको ‘वैदेशिक व्यापारका आधारभूत पक्षहरू अझै मजबुत’ रहेको दाबी गरे।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रमुखले गत महिना चीनलाई आर्थिक असन्तुलन सुधार्न र निर्यातमा निर्भरता घटाउँदै घरेलु माग र लगानी बढाउन आग्रह गरेका थिए। चीनमा लामो समयदेखि चलिरहेको सम्पत्ति क्षेत्रको मन्दीले उपभोक्ता विश्वास र आन्तरिक मागलाई दबाबमा राखेको छ। अत्यधिक ऋण नियन्त्रणका कारण धेरै विकासकर्ता कम्पनीहरू डिफल्टमा परेपछि यो अवस्था आएको हो।

चीनका नेताहरूले उपभोक्ता र व्यवसायिक खर्च बढाउनेलाई आर्थिक नीतिको केन्द्रमा राखेका छन्। तर हालसम्मका कदमहरूको प्रभाव सीमित देखिएको छ। पछिल्ला महिनाहरूमा लागू गरिएको सरकारी ‘ट्रेड-इन’ अनुदानले घरायसी उपकरण र सवारीसाधन जस्ता ऊर्जा-दक्ष वस्तु किन्न प्रोत्साहन दिएको थियो।

बीएनपी परिबासकी रङले भनिन्, ‘हामी घरेलु मागको वृद्धिदर कमजोर नै रहने अपेक्षा गर्छौं। वास्तवमा उपभोक्ता वस्तुका लागि दिइएको वित्तीय अनुदान कार्यक्रम गत वर्षको भन्दा कमजोर देखिन्छ।’

सवारीसाधनको हकमा, २०२५ मा घरेलु बिक्री ६ प्रतिशतले बढे पनि वर्षको अन्त्यतिर अनुदान घटाइए वा हटाइएपछि बिक्री फेरि सुस्तियो।

फ्रेन्च लगानी बैंक नाटिक्सिसका वरिष्ठ अर्थशास्त्री ग्यारी ङका अनुसार २०२६ मा चीनको निर्यात करिब ३ प्रतिशतले मात्र बढ्नेछ, जुन २०२५ को ५.५ प्रतिशत वृद्धिभन्दा कम हो। आयातको वृद्धिदर सुस्त रहने भएकाले यस वर्ष पनि चीनको व्यापार एक ट्रिलियन डलरभन्दा माथि नै रहने उनको अनुमान छ। (एपी)

The post चीनको व्यापार कारोबार वृद्धिमा कीर्तिमान, ट्रम्पको ट्यारिफ छिचोल्दै करिब १.२ ट्रिलियन डलर appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category