npl.977 Nepal News Stream

KHASOKHAS logo KHASOKHAS

अमेरिकाले रोक्यो अफगानिस्तानका नागरिकका लागि भिसा प्रक्रिया

गिरिजा अधिकारी 1 day ago

अमेरिकाले अफगानिस्तानका नागरिकहरुका लागि भिसा प्रक्रिया रोकेको छ । अमेरिकी विदेश मन्त्रालयले विश्वका सबै कुटनीतिक नियोग तथा दुतावासहरुलाई अफगानिस्तानका नागरिकहरुका लागि भिसा प्रक्रिया रोक्न निर्देशन दिएको जनाएको छ । विदेशमा रहेका सबै दुतावास तथा कुटनीतिक नियोगहरुमा एक आन्तरिक निर्देशिका पठाउँदै अमेरिकाले अफगानिस्तानका नागरिकहरुको भिसा प्रक्रिया तत्काल रोक्न भनेको हो ।

बुधबार वाशिंगटन डीसीमा दुई जना नेशनल गार्डका सदस्यहरुमाथि गोली हानिएको आरोप अफगानिस्तानमा सीआईए समर्थिक इकाईका पूर्व सदस्य रहमानुल्लाह लकनवाललाई लागेको छ । सो घटना लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा कदमहरु चालिरहेका छन् र त्यसैको निरन्तरतामा अफगानिस्तानका नागरिकका लागि भिसा प्रक्रिया बन्द गरिएको हो ।

कन्सुलर अधिकारीहरूलाई दिइएको निर्देशन अनुसार, विशेष आप्रवासी भिसाका आवेदकहरू लगायत अफगानिस्तानका नागरिकहरूबाट आएका कुनै पनि आप्रवासी वा गैर-आप्रवासी भिसा आवेदनहरू अस्वीकार गर्न भनिएको छ ।

यसअघि नै निर्धारण गरिएको अपोइन्टमेन्टहरु भने रद्ध गरिने छैनन् । तर, अन्तरर्वार्ताका क्रममा भिसा दिन अस्वीकार गर्नुपर्ने निर्देशन दिइएको छ । पहिले नै जारी भइसकेका तर पासपोर्टमा नटाँसिएका भिसाहरु रद्ध गरिनुपर्ने र ती केसलाई सिस्टममा संशोधन गरी अस्वीकार गर्न समेत निर्देशन दिइएको छ ।

अमेरिकाका अफगानी सहयोगीहरूलाई समेत यसले रोक्ने भन्दै चिन्ता व्यक्त भइरहेको छ । अमेरिकालाई सहयोग गर्दै आइरहेको स्वयमसेवीहरुको समूहले पनि ट्रम्प प्रशासनले सबै अफगानिस्तानका नागरिकहरुलाई अमेरिका आउनबाट रोक्ने प्रयासको अंश भएको प्रतिक्रिया दिएको छ ।

विशेष भिसा कार्यक्रम अन्तर्गत सन् २०२१ सम्ममा अफगानिस्तानका २ लाख नागरिकहरु अमेरिका आइसकेका छन् । अमेरिकाबाहिर रहेका थप २ लाख ६५ हजार नागरिकहरुका आवेदन अझै प्रकृयामा रहेको थियो जसमा अमेरिकी सरकारका लागि काम गरेका नागरिकहरुका लागि विशेष आप्रवासी भिसाको पर्खाईमा १ लाख ८० हजार व्यक्तिहरु थिए ।

अमेरिकी सरकार, सेना तथा सम्बद्ध संस्थाहरुमा सेवा गरेबापत तालिबान तथा अन्य शत्रु पक्षबाट संरक्षण गर्न विशेष आप्रवासी भिसा कार्यक्रम ल्याइएको थियो ।

सन् २००९ मा अफगान सहयोगी संरक्षण ऐन पारित भएपछि यो कार्यक्रम नागरिकहरूका लागि समेत विस्तार गरिएको थियो । अमेरिकी सरकार, सेना वा मिसनहरूको तर्फबाट अफगानिस्तानमा वफादार र मूल्यवान सेवा प्रदान गर्ने कुनै पनि नागरिकलाई भिसाका लागि योग्य बनाएको थियो, पछिल्लो आन्तरिक निर्देशिकाले सबै श्रेणीका आवेदनहरु रोकिएका छन् ।

Read more news from KHASOKHAS

Explore by Source or Category