npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

उत्तरगङ्गामा छानोसहितको साँघु निर्माण, स्थानीय र पर्यटकलाई सहज

पालिका ब्यूरो 2 days ago

बागलुङ – ढोरपाटन नगरपालिकाले उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण गरेको छ । स्थानीय बासिन्दा तथा पर्यटकलाई नदी वारपार गर्न सहज होस् भन्ने उद्देश्यले चालु आर्थिक वर्षमा रु नौ लाख ५० हजार लागतमा मौलिक शैलीको साँघु निर्माण गरिएको हो ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतका अनुसार वर्षायाममा उत्तरगङ्गामा पानीको बहाव बढ्दा ढोरपाटन बराह मन्दिर क्षेत्रबाट पारिपट्टिको सेलपाखे, सिकार आरक्ष कार्यालय क्षेत्रलगायत स्थानमा पुग्न जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो। अब साँघु निर्माण भएसँगै उक्त समस्या समाधान भएको उनले बताए ।

साँघुको सहतमा सिमेन्टको ढलान गरिएको छ भने माथि काठ र ढुङ्गाको छानो हालेर परम्परागत स्वरूप दिइएको छ। ढोरबहार मन्दिरदेखि स्यालपाखे जोड्नेगरी निर्माण गरिएको उक्त साँघुले स्थानीय आवतजावत मात्र नभई पर्यटकीय गतिविधिलाई समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

उपप्रमुख कायतले भने, “पछिल्लो समय ढोरपाटनमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो छ । तर उत्तरगङ्गामा पुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने अवस्था थियो । अब साँघु बनेपछि स्थानीय र पर्यटक दुवैलाई सहज हुनेछ ।”

यसअघि पुलको अभावमा वर्षायाममा उत्तरगङ्गाको बाढीले मानवीय क्षति समेत हुने गरेको थियो। साँघु नहुँदा ढोरबहार मन्दिरदेखि स्यालपाखे, पाखाथर, छेन्तुङ, ढोरपाटन सिकार आरक्ष, बुकीपाटन र जलजला जाने पर्यटकले घण्टौँ लगाएर नवी र मोराङ दोगाडी घाटस्थित झोलुङ्गे पुल प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

नयाँ साँघु निर्माणसँगै ढोरपाटन क्षेत्रको आवतजावत सुरक्षित र सहज हुने विश्वास गरिएको छ ।

Read more news from PalikaNews

Explore by Source or Category