नेपाली युवाको यात्रा इरानी आक्रमणले अनिश्चित, भोट हाल्न टिकट काटेका १५ हजार रोकिए खाडीमै
काठमाडौं। फागुन २१ गतेको निर्वाचनमा भोट हाल्नका लागि हवाई टिकट काटेका नेपाली युवाहरु खाडी मुलुकमा रोकिएका छन्।
इजरायल र अमेरिकाले आफूमाथि गरेको आक्रमणको बदलामा इरानले कतार, यूएई, साउदी अरेबियालगायत मुलुकमा बमबारी गर्न थालेपछि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपाली युवाहरु रोकिन पुगेका हुन्।
यसपालि चुनावमा भोट हाल्न आउनेको चापका कारण वायुसेवा प्रदायक कम्पनीहरुले दुई साताअघि नै सबैजसो टिकट बेचिसकेका थिए। हवाई टिकट किन्नेमा अधिकांश खाडी मुलुकमा रहेका नेपाली युवा थिए।
सामान्य अवस्थामा जहाजमा अकुपेन्सी ७०/७५ प्रतिशत हाराहारी हुने गरेकामा चुनावका कारण हवाई टिकटको माग एकाएक बढेको थियो। वायुसेवा प्रदायक कम्पनीहरुका अनुसार फागुन लागेदेखि नै विमानमा यात्रुको चाप बढेको थियो।
तर वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा रहेका नेपाली युवा इरानको आक्रमणपछि फागुन १६ देखि स्वदेश आउन पाएका छैनन्।
त्रिभुवन विमानस्थल र खाडी मुलुकबीच हुने उडान अवतरण शनिबार १८ वटा रद्द भएकामा आइतबार त्यो संख्या २७ पुगेको थियो। सोमबार पनि पूर्वनिर्धारित उडान रद्द भएका छन्। इरानको आक्रमण नरोकिएका कारण खाडी मुलुकमा उडान कहिलेसम्म रोकिन्छ भन्ने टुंगो छैन।
वायुसेवा प्रदायक कम्पनीहरुका अनुसार खाडी मुलुकबाट फागुन २० सम्म नेपाल आउन टिकट काटेका करिब १५ हजार जनाको यात्रा अनिश्चित हुन पुगेको छ।
‘चुनावको मुखमा खाडी मुलुकबाट नेपाल आउन चाहनेमध्ये अधिकांश नेपाली युवा थिए। भोट हाल्नका लागि आउन चाहनेको चापकै कारण सबैजसो टिकट बिक्री भएको थियो। चुनाव नभएको भए टिकटमा त्यस्तो चाप हुँदैनथ्यो। तर टिकट काटेर आउन बाँकी रहेकाहरुको यात्रा इरानको आक्रमण नरोकिएकाले अनिश्चित भएको छ,’ नेपाल वायुसेवा निगमका एक कर्मचारीले भने, ‘टिकट क्यान्सिल गर्ने माग चाहिँ आएको छैन।’
निगमले खाडी मुलुकबाट काठमाडौंमा सातामा १३ वटा उडान गर्दै आएको थियो। सातामा दोहाबाट ५, दुबईबाट ६ र दमामबाट २ वटा उडान गर्दै आएको निगमका अधिकांश यात्रु नेपाली युवा हुन्। निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार चुनावका कारण निगमले १८० सिटे न्यारोबडी जहाजका सबैजसो टिकट बिक्री गरेको थियो।
‘फेब्रुअरीको अन्तिम सातादेखि नै अकुपेन्सी राम्रो थियो। बुकिङ ९५ प्रतिशत रहेकामा उडानका बेला फुल अकुपेन्सी हुने गरेको थियो,’ खड्काले भनिन्, ‘तर शनिबारदेखि खाडी मुलुकबाट यात्रु ल्याउन पाएका छैनौं।’
टिकट बिक्रीका आधारमा एक सातामा निगमले खाडी मुलुकबाट आउन ठिक्क परेका २२०० भन्दा बढी यात्रु गुमाउनेछ। निगमको भन्दा फरक अवस्था छैन अन्य वायुसेवा प्रदायक कम्पनीको।
हिमालय एयरलाइन्सले दुबई, दमाम र दोहाबाट हप्तामा सातै दिन तथा कुवेतबाट ६ दिन न्यारोबडी जहाज काठमाडौं ल्याउने गरेकामा उसका यात्रु पनि उतै रोकिएका छन्।
कुवेत एयरलाइन्सको नेपालका लागि महाप्रबन्धक रुपेश कुमार झाले फागुन १६ देखि एक सातासम्मका लागि ९०० भन्दा बढी यात्रुले टिकट काटेको जानकारी दिए।
‘हामीले कुवेतबाट काठमाडौंमा १३४ सिटे जहाजमार्फत दैनिक सेवा दिंदै आएका छौं। मार्च लाग्नुअघि नै टिकट बिक्री भइसकेको थियो,’ उनले भने, ‘तर भनेको समयमा आउन नपाएपछि अब यात्रुले टिकटको पैसा फिर्ता माग्न सक्छन्।’
खाडी मुलुकबाट नेपालमा ठूलो संख्यामा यात्रु ओसार्ने वायुसेवा प्रदायकहरु कतार एयरवेज, फ्लाई दुबई, एयर अरेबिया र जजिरा एयरवेज पनि हुन्। ती कम्पनीका जहाजमा आउनका लागि टिकट काटेकाहरु पनि नेपाल आउन पाएका छैनन्।
खाडी मुलुकलाई ट्रान्जिट बनाएर नेपालमा उडान गर्दै आएको श्रीलंकन एयरलाइन्स भने अहिलेको तनावले धेरै प्रभावित भएको देखिँदैन।
श्रीलंकन एयरलाइन्सको नेपालका लागि जीएसए जेनिथ ट्राभल्सका सेल्स म्यानेजर दीपक मैनालीले खाडी मुलुकबाट आइतबार १२ यात्रु ल्याउन नपाएको बताए।
The post नेपाली युवाको यात्रा इरानी आक्रमणले अनिश्चित, भोट हाल्न टिकट काटेका १५ हजार रोकिए खाडीमै appeared first on BIZMANDU.