npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

‘ब्यालेट’ सुरक्षाका लागि ‘बुलेट’ प्रयोग हुनसक्ने चेतावनी

Saral Patrika 2 days ago

विराटनगर । आगामी प्रतिनिधिसभा निर्वाचनमा मतपेटिका (ब्यालेट) को सुरक्षाका लागि सुरक्षा निकायले आवश्यकता परे गोली (बुलेट) समेत चलाउन सक्ने मोरङका सुरक्षा प्रमुखहरूले बताएका छन्।

नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको ‘निर्वाचन र आम सञ्चार’ विषयक अन्तर्क्रियामा बोल्दै प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र जिल्ला प्रहरी प्रमुखले यस्तो कडा सुरक्षा रणनीतिको संकेत गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी कट्टेलले निर्वाचन बिथोल्ने वा मतदान प्रक्रियामा अवरोध गर्ने जोसुकै विरुद्ध सुरक्षा प्रोटोकलअनुसार कडा कारबाही गरिने स्पष्ट पारेका छन्।

अवाञ्छित गतिविधि भएमा मतपेटिका जोगाउन सुरक्षाकर्मीले अन्तिम विकल्पका रूपमा हतियार प्रयोग गर्न सक्ने उनले बताएका हुन्। सुरक्षाकर्मीले आफ्नो ज्यान जोखिममा राखेर भए पनि जनताको मत सुरक्षित गर्ने उनको भनाइ थियो।

यस्तै, मोरङका प्रहरी प्रमुख कवित कटवालले एकीकृत सुरक्षा योजना कार्यान्वयनमा आइसकेको र निर्वाचन बिथोल्न खोज्ने केही व्यक्तिलाई पक्राउ गरी निगरानी बढाइएको जानकारी दिएका छन्।

मोरङका ३०६ मतदान स्थलमध्ये ४७ वटालाई ‘अति संवेदनशील’ र १२५ वटालाई ‘संवेदनशील’ सूचीमा राखेर विशेष सुरक्षा व्यवस्था मिलाइएको छ।

मतदान स्थलमा खटिएका सुरक्षाकर्मीलाई परिस्थिति हेरी बल प्रयोग गर्ने आदेश दिइएको र थप मद्दतका लागि ‘रिजर्भ फोर्स’ समेत तयारी अवस्थामा राखिएको उनले बताएका छन्।

Read more news from Saral patrika

Explore by Source or Category