npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

सञ्चालक समितिको निर्णयविनै हितेन्द्रले ल्याए पीटीसीको बिजुली, स्वीकृत गराउन हारगुहार

Janak Oli 8 hours ago

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफैंले महँगो दाबी गरेको दर रेटमा सञ्चालक समितिको निर्णयविनै भारतसँग बिजुली किनेका छन्।

हितेन्द्रदेवले पीटीसी इन्डियासँग प्रति युनिट ६.९५ भारुमा पुस २९ गतेदेखि बिजुली किन्न थालेका हुन्।

जबकि हितेन्द्रले गत असोज ५ गते प्राधिकरणबाट आफूलाई हटाइएपछि सामाजिक सञ्जालमा लेखेका थिए- ‘६.७४ रुपैयाँमा १३२ केभीमा पाइने बिजुली एक महिनापछि ६.९५ रुपैयाँमा, त्यो पनि ४०० केभीमा किन किन्नु परेछ?’

प्राधिकरणको सञ्चालक समितिको पुस १५ गते बसेको १०२०औं बैठकले १८० मेगावाट विद्युत खरिदका लागि पीटीसी इन्डियासँग भएको सम्झौता रद्द गर्ने निर्णय गरेको थियो।

‘१ जनवरी २०२६ देखि ३१ मे २०२६ सम्म १८० मेगावाट विद्युत आयत गर्न पीटीसी इन्डियासँग १३ अक्टोबर २०२५ मा भएको सम्झौता अनुसार हालसम्म पनि डिजेक्नेटड अथोरिटी, गभर्मेन्ट अफ इन्डियाबाट स्वीकृति प्राप्त भै नसकेको हुँदा पीटीसी इन्डियासँग भएको सम्झौता अनुसार १ जनवरी २०२६ देखि विद्युत आयात हुने अवस्था नदेखिएको हुँदा प्राधिकरणलाई कुनै दायित्व सिर्जना नहुने गरी प्रतिकृया माग गरी सम्झौता कार्यान्वयन नगर्नेतर्फ शीघ्र आवश्यक प्रकृया अघि बढाउन कार्यकारी निर्देशकलाई निर्देशन दिन,’ बोर्डले निर्णय गरेका थियो।

बोर्डको निर्णय

प्राधिकरण सञ्चालक समितिको त्यो निर्णय विपरीत हितेन्द्रदेवले पुस २९ गतेबाट पीटीसी इन्डियासँग बिजुली आयात गरिरहेको छ। जबकि प्राधिकरणको सञ्चालक समितिले पीटीसी इन्डियासँग बिजुली किन्ने नयाँ निर्णय गरेको छैन।

हितेन्द्रदेवले पुस २९ गतेबाट १८० मेगावाट बिजुली आउन थालेको पुष्टि गर्दै संचालक समितिले पीटीसीसँगको सम्झौता रद्द नगरेको जिकिर गरे। ‘पहिलाको सञ्चालक समितिले सम्झौता रद्द गरेको होइन। भार नपर्ने गरी बिजुली किन्न निर्देशन दिएको हो,’ उनले बिजमाण्डूसँग भने, ‘उताबाट भार पर्नेगरी आएकाले सञ्चालक समितिमा प्रस्ताव गरिएको छ।’

अन्तर्देशीय विद्युत व्यापार गर्दा प्राधिकरणको सञ्चालक समितिबाट निर्णय गराएर विद्युत नियमन आयोगबाट स्वीकृति लिनुपर्छ।

पुस १५ गतेको बैठकले सम्झौता रद्द गर्ने निर्णय गरेको अवस्थामा सञ्चालक समितिले बिजुली किन्ने नयाँ निर्णय नगरेको प्राधिकरणका एक सञ्चालकले बताए। ‘सञ्चालक समितिबाट पीटीसी इन्डियासँग बिजुली किन्ने निर्णय भएको छैन,’ ती सञ्चालकले भने।

पीटीसी इन्डियाले हित्नद्रदेव कार्यकारी निर्देशक रहँदा नै प्रति युनिट ६.९५ भारुको प्रस्ताव गरेको थियो। असोज ५ गते तत्कालीन ऊर्जामन्त्री हितेन्द्रदेवलाई प्राधिकरणबाट हटाएपछि उनको ठाउँमा मनोज सिलवाल आए। सिलवालले सञ्चालक समितिमा लगेर पीटीसी इण्डियाको प्रस्ताव स्वीकृति गराएका थिए।

सिलवालले सञ्चालको समितिबाट प्रस्ताव स्वीकृत गराएपछि हितेन्द्रले प्राधिकरणलाई ४३ करोड भार पार्ने निर्णय गरेको प्रचार गरेका थिए।

यसअघि आफैंले महँगो दर भनेर विवादमा पारी प्राधिकरण सञ्चालक समितिबाट सम्झौता रद्द गर्न भूमिका निर्वाह गरेका हितेन्द्रले अहिले निर्णयविनै बिजुली किनेर स्वीकृतिका लागि हारगुहार गरिरहेको स्रोतले बतायो। हितेन्द्र सर्वोच्च अदालतको आदेशमा मंसिर अन्तिम साता प्राधिकरणमा फर्किएका थिए।

विवाद के हो?

प्राधिकरणले भारतको उर्जा विनिमय बजार (आइएक्स)बाट डे अहेड र रियल टाइम बजार तथा विद्युत आदान प्रदान संयन्त्रमार्फत विद्युत आयात गर्दै आएको छ।

द्विपक्षीय सम्झौतामार्फत विद्युत खरिदका लागि भारतीय सरकारी संस्थाहरुको समेत लगानी रहेको पीटीसी इन्डिया र भारतीय सरकारी निकाय एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन)सँग गत साउन १३ गते प्रस्ताव माग गरिएको थियो।

त्यतिबेला हितेन्द्रदेव प्राधिकरणको कार्यकारी निर्देशक र दीपक खड्का ऊर्जामन्त्री थिए।

पीटीसीबाट प्रसारण तथा अन्य शुल्क र चुहावटसहित साउन २३ गते प्रति युनिट ६.७४ भारुमा विद्युत दिने प्रस्ताव आयो। एनभीभीएनले प्रति युनिट ७.७० भारुमा विद्युत बिक्री गर्ने प्रस्ताव गर्‍यो।

प्राधिकरणको तत्कालीन संचालक समिति र व्यवस्थापनले समयमा निर्णय नगरेका कारण पीटीसीको प्रस्ताव कार्यान्वयनमा जान सकेन। भदौ १३ भित्र सम्झौता गर्नुपर्ने पीटीसीको प्रस्ताव प्राधिकरणको अनिर्णयका कारण स्वतः रद्द भएको थियो।

हिउँदको माग आन्तरिक उत्पादनले नधान्ने भएका कारण प्राधिकरणले फेरि प्रस्ताव माग्यो। त्यतिखेर पनि हितेन्द्रदेव नै कार्यकारी निर्देशक थिए। पीटीसीबाट प्रति युनिट ६.९५ र एनभीभीएनबाट प्रति युनिट ७.६७ भारुको संशोधित प्रस्ताव आयो।

त्यतिखेर कुलमान ऊर्जामन्त्री थिए। उनले हितेन्द्रदेवलाई हटाएर असोज ५ गते सिलवाललाई कार्यकारी निर्देशक बनाए।

सिलवालले जिम्मेवारी सम्हालेपछि बसेको प्राधिकरणको सञ्चालक समितिको पहिलो बैठकले एनभीभीएनको तुलनामा प्रति युनिट ०.७२ भारु कम भएका कारण पीटीसीसँग १८० मेगावाट बिजुली किन्ने निर्णय गरेको थियो।

कुलमानले राजीनामा दिनु केही दिनअघि अर्थात पुस १५ गते प्राधिकरणको सञ्चालक समितिबाट सम्झौता कार्यान्वयन नगर्ने निर्णय गरेका थिए।

The post सञ्चालक समितिको निर्णयविनै हितेन्द्रले ल्याए पीटीसीको बिजुली, स्वीकृत गराउन हारगुहार appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category