npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

कास्कीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ

इन्द्र कमल रोक्का 16 hours ago

कास्की। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की जिल्लाका ३६५ मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ। प्रदेश निर्वाचन कार्यालय पोखराले सोमबार सबै केन्द्रका लागि मतपत्रसहितका सामग्री पठाइसकेको जनाएको छ।

मतदान केन्द्रका अधिकृत र सहायक अधिकृतले निर्वाचन कार्यालयबाट सामग्री बुझेर मतदान केन्द्रमा पुगेका छन्। प्रदेश निर्वाचन अधिकारी नारायण ढकालका अनुसार, “कास्कीमा निर्वाचनको तयारी पूरा भइसकेको छ। मतदान अधिकृत र सहायक अधिकृतले मतपत्रसहितका सामग्री प्राप्त गरी मतदान केन्द्रमा पुगेका छन्। जिल्लामा शान्ति र सुरक्षा समस्या छैन। मतपत्र ढुवानी र मतगणनासम्मको तयारी गरिएको छ।”

पोखरा–३२ स्थित चन्द्रज्योति आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत गुणराज अधिकारीले सोमबार साँझ नै सबै सामग्रीसहित मतदान केन्द्रमा पुगेको बताए। “निर्वाचनका लागि हामी तयारीमा छौँ। मङ्गलबार र बुधबार सूचना टाँस, सर्वदलीय बैठक लगायतका काम सम्पन्न हुनेछ,” उनले भने।

कास्कीमा १५३ मतदानस्थल, ३६३ स्थायी मतदान केन्द्र र २ अस्थायी मतदान केन्द्र गरी कुल ३६५ मतदान केन्द्र छन्। यी केन्द्रमा दुई हजार १९० कर्मचारी खटिनेछन्। मतदान अधिकृतले चुनावको दिन तीन जना स्वयंसेवक नियुक्त गर्न सक्ने व्यवस्था छ।

५०० भन्दा कम मतदाता भएका मतदान केन्द्रमा पाँच जना कर्मचारी हुने व्यवस्था छ: एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक सहयोगी कर्मचारी। प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार एक हजार ९२ जना स्वयंसेवक खटाइनेछन्।

निर्वाचनमा कारागारका कैदीबन्दीका लागि कारागारमा मतदान केन्द्र तोकिएको छ। मतदानमा नखटिने कर्मचारीले जिल्ला समन्वय समितिमा मतदान गर्नेछन्। जिल्लामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४९ जना उम्मेदवार छन्। मतदाता संख्या ३,०८,५७२ जना रहेको छ, जसमा अस्थायी मतदाता २,८६१ जना छन्। अस्थायी मतदाता मध्ये महिला ७२० र पुरुष २,१४१ छन्।

Read more news from Kendrabindu

Explore by Source or Category