npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

इरानमाथि सैन्य आक्रमणसँगै उब्जिएको मध्यपूर्व संकटको रणनीतिक मूल्याङ्कन

नेपाल न्युज 3 hours ago

काठमाडौं। इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि मध्यपूर्वमा फैलिएको द्वन्द्वको प्रत्यक्ष असर खाडी हुँदै संसारभर फैलिएको छ।

इरानमाथि अमेरिका र इजरायलले सुरु गरेको प्रत्यक्ष सैन्य आक्रमणसँगै मध्यपूर्वको भू-राजनीति एउटा भयानक र अनिश्चित मोडमा पुगेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गरेसँगै सुरु भएको यो द्वन्द्व अब क्षेत्रीय युद्धमा परिणत भएको छ।

इरानबाट गरिएको प्रतिशोधात्मक आक्रमणले छिमेकीहरूले दशकौंदेखि भोग्दै आएको सुरक्षाको भावनालाई चकनाचुर पारेको छ। द्वन्द्व घण्टा-प्रतिघण्टा चर्किँदै गएको भने यस्को असर विश्वव्यापी फैलावट हुन थालेको छ। यसले विश्वव्यापी अर्थतन्त्रमा अनिश्चितता र भय सिर्जना गर्नुका साथै हजारौँ यात्रुहरूलाई अलपत्र पारेको छ।आक्रमणहरू तीव्र बन्दै जाँदा हताहत हुनेको संख्या बढिरहेको छ। यस्तो छ सीएनएनबाट साभार गरी नेपाल न्युजले तयार पारेको मध्यपूर्व संकटको रणनीतिक विश्लेषणको भावानुवाद:

१. इरानमाथि पूर्ण हवाई प्रभुत्व:

शनिबार राति भएको अमेरिकी र इजरायली आक्रमणले इरानको हवाई प्रतिरक्षा प्रणालीलाई पूर्ण रूपमा ध्वस्त पारेको छ। इरानसँग भएका रुस-निर्मित प्रणालीहरू इजरायलले पछिल्लो एक वर्षमा गरेका विभिन्न आक्रमणहरूमा पहिले नै कमजोर भइसकेका थिए। पछिल्लो प्रहारले इरानको आकाशमा अब कुनै पनि बाह्य प्रतिरोध गर्ने संयन्त्र बाँकी नरहेको देखिन्छ। यसको अर्थ अब अमेरिका र इजरायली लडाकु विमानहरूले इरानको आकाशमा विना कुनै ठूलो जोखिम उडान भर्न सक्छन्। यो हवाई प्रभुत्वले गर्दा इरानका कुनै पनि सैन्य गतिविधि वा आणविक केन्द्रहरू अब सिधै निगरानी र आक्रमणको दायरामा आएका छन्। यो स्थिति युद्ध अवधिभर र त्यसपछि पनि रणनीतिक रूपमा निर्णायक रहने निश्चित छ।

२. इरानी नेतृत्वमा आएको विघटन:

आक्रमणको सुरुवाती चरणमै इरानका सर्वोच्च नेता अली खामेनीसहित ४८ जना उच्च पदस्थ नेताहरू मारिएका छन्। यो क्षति इरानको लागि अपूरणीय छ, किनकि सन् १९७९ को क्रान्तिपछि इरानमा नेतृत्वको यस्तो रिक्तता कहिल्यै आएको थिएन। इरानको सैन्य संरचना अहिले नेतृत्वविहीन अवस्थामा छ। इरानी विदेश मन्त्रीले नै उनीहरूका सैन्य इकाइहरू अहिले केन्द्रसँग सम्पर्क विच्छेद भएर स्वतन्त्र रूपमा काम गरिरहेको स्वीकार गरेका छन्। कमाण्ड र कन्ट्रोलको यो विच्छेदले गर्दा इरानभित्र अहिले को आधिकारिक रूपमा शक्तिमा छ र कसले निर्णय गरिरहेको छ भन्ने कुरामा स्वयम् इरानी अधिकारीहरू नै अन्योलमा छन्।

३. उत्तराधिकारी चयनको अनिश्चितता:

इरानको शासनले खामेनीको ठाउँमा नयाँ नेतृत्वको प्रक्रिया सुरु भएको दाबी गरे पनि वास्तविकता चुनौतीपूर्ण देखिन्छ। संविधान अनुसार गठन गरिने भनिएको अन्तरिम काउन्सिलका सदस्यहरू अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन्। यसैबीच, इजरायल र अमेरिकाले इरानको बाँकी नेतृत्वलाई पनि निशाना बनाउन जारी राखेका छन्, जसमा पूर्व राष्ट्रपति अहमदनेजादको निवासमा पनि आक्रमण भएको छ।

खामेनीको स्पष्ट उत्तराधिकारी नहुनु अर्को ठूलो समस्या हो। मुख्य दावेदार मानिएका इब्राहिम रायसीको दुई वर्ष अघि नै हेलिकप्टर दुर्घटनामा मृत्यु भइसकेको छ भने खामेनीका छोरा मोज्ताबालाई इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सको साथ भए पनि कानुनी र राजनीतिक अवरोधहरू छन्। यो नेतृत्वको शून्यताले आउँदा हप्ताहरूमा इरानको इस्लामिक गणतन्त्रको जग नै धराशयी बनाउन सक्छ।

४. मिसाइल आक्रमणको सैन्य विश्लेषण:

इरानले अमेरिका र इजरायली आक्रमणको जवाफमा इजरायल र खाडी क्षेत्रका अमेरिकी सैन्य अखडाहरूमा मिसाइल प्रहार गरिरहेको छ। अहिले अमेरिका र इजरायलको मुख्य सैन्य लक्ष्य भनेको इरानको मिसाइल प्रहार गर्ने क्षमता, विशेष गरी ‘लन्चर’हरूलाई नष्ट गर्नु हो। लन्चरहरू कति संख्यामा छन् भन्ने कुराले नै इरानले एकैपटकमा कति मिसाइल प्रहार गर्न सक्छ भन्ने निर्धारण गर्दछ। यद्यपि, इरानसँग लामो दूरीका मिसाइलहरू कम भए पनि छोटो र मध्यम दूरीका मिसाइलहरूको ठूलो भण्डार छ। इरानले यी मिसाइलहरूलाई लुकाएर राखेको हुनाले तिनलाई पूर्ण रूपमा नष्ट गर्न कठिन छ। आउँदा केही दिनहरूमा इरानले आफ्नो आक्रमणको तीव्रता कायम राख्न सक्छ कि सक्दैन भन्ने कुराले नै अमेरिकी सैन्य आक्रमण कत्तिको प्रभावकारी भयो भन्ने प्रष्ट पार्नेछ।

५. खाडी राष्ट्रहरूको बाध्यकारी संलग्नता:

यो संकटको सबैभन्दा आश्चर्यजनक मोड इरानले साउदी अरब, युएई, कतार र ओमान जस्ता खाडी राष्ट्रका नागरिक संरचना र होटलहरूलाई निशाना बनाउनु हो। सुरुमा इरानले अमेरिकी सैन्य आधारहरूलाई मात्र लक्षित गर्ने बताए पनि पछि नागरिक क्षेत्रमा आक्रमण गरेपछि यी देशहरू युद्धमा तानिएका छन्। यसले वर्षौंदेखि इरानले आफ्ना अरब छिमेकीहरूसँग सुधार गर्न खोजेको सम्बन्धलाई पूर्ण रूपमा समाप्त गरिदिएको छ।

खाडी देशहरू यो द्वन्द्वबाट टाढा रहन चाहन्थे, तर साझा खतरा देखिएपछि उनीहरू अहिले अमेरिका र इजरायलसँग मिलेर आत्मरक्षाको अधिकार प्रयोग गर्ने पक्षमा उभिएका छन्। यसले गर्दा इरान विरुद्ध एक ठूलो अन्तर्राष्ट्रिय सैन्य गठबन्धन निर्माण भइरहेको देखिन्छ।

६. रुस र चीनको भूमिका र अनुपस्थिति:

इरानले सधैं रुस र चीनलाई आफ्नो रणनीतिक साझेदारको रूपमा प्रस्तुत गर्दै आएको थियो। तर अहिलेको संकटको समयमा यी दुवै देशहरू मौन वा निष्क्रिय देखिएका छन्। रुस आफैं युक्रेन युद्धमा अल्झिएकाले उसले इरानलाई नष्ट भएका रक्षा प्रणालीहरू उपलब्ध गराउन सक्ने अवस्था छैन। चीन आफ्नो आर्थिक स्वार्थ र तेलको आपूर्तिको चिन्तामा मात्र सीमित देखिएको छ।
सर्वोच्च नेता खामेनीको मृत्युको खबरपछि पनि रुस र चीनले केवल मौखिक निन्दा मात्र गरेका छन्। उनीहरूले इरानलाई बचाउन कुनै ठोस सैन्य सहयोग गर्ने सम्भावना न्यून छ। यसले इरान अहिले अन्तर्राष्ट्रिय रूपमा एक्लो परेको र आफ्नै बलमा लड्नुपर्ने स्थितिमा पुगेको स्पष्ट पार्दछ।

७. छद्म आक्रमणको अवस्था:

इरानले सधैं प्रयोग गर्ने साइबर अपरेशन, छद्म लडाकुहरू र समुद्री अवरोध जस्ता हतियारहरू अहिले सुस्त देखिएका छन्। इरानले सुरुमा हर्मुज जलसन्धि बन्द गर्ने धम्की दिए पनि अहिले त्यसबाट पछि हटेको देखिन्छ। अमेरिकाले पनि इरानको नौसेनालाई पहिले नै निशाना बनाइरहेको छ जसले गर्दा उनीहरूको समुद्री शक्ति कमजोर भएको छ।

इरानको मुख्य शक्ति मानिने लेबनानको हिजबुल्लाह पनि अहिले प्रतिरक्षात्मक अवस्थामा छ र इरानको समर्थनमा ठूलो मोर्चा खोल्न सकेको छैन। इराकमा रहेका लडाकुहरूले केही ड्रोन प्रहार गरे पनि इराकी नेतृत्वले आफ्नो देशलाई यो युद्धको केन्द्र बन्नबाट जोगाउन खोजिरहेको छ। यद्यपि, यो मौनता रणनीतिक तयारी पनि हुन सक्ने भएकाले सतर्क रहनुपर्ने देखिन्छ।

८. विश्वव्यापी ऊर्जा र तेल बजारमा असर:

इरानसँगको यो युद्धले विश्व बजारमा तेलको मूल्यमा प्रत्यक्ष प्रभाव पारेको छ। हर्मुज जलसन्धिमा हुने कुनै पनि अवरोधले इन्धनको मूल्य बढाउने निश्चित छ। ओपेकले तेलको उत्पादन बढाउने निर्णय गरे पनि आइतबार साँझ बजार खुल्दा तेलको मूल्यमा १०% वृद्धि भएको छ। इरानले यो मूल्य वृद्धिमार्फत अमेरिकामाथि घरेलु दबाब सिर्जना गर्न खोजिरहेको छ। तर, दशकौं अघिको ऊर्जा संकट र अहिलेको स्थितिमा ठूलो भिन्नता छ। अमेरिका अहिले विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक देश हो। त्यसैले मध्यपूर्वबाट हुने आपूर्तिमा अवरोध आए पनि यसको प्रभाव पहिलेको तुलनामा छोटो समय मात्र रहने विज्ञहरूको अनुमान छ।

९. सैन्य श्रेष्ठता र राजनीतिक अनिश्चितता:

सैन्य दृष्टिकोणबाट अमेरिका र इजरायलसँग अपार शक्ति र आधुनिक प्रविधि छ। उनीहरूले इरानभित्रका कुनै पनि रणनीतिक लक्ष्यलाई ध्वस्त पार्न सक्छन्। यो सैन्य श्रेष्ठताले इरानको नयाँ नेतृत्वलाई केही हदसम्म व्यावहारिक बन्न बाध्य पार्न सक्छ, तर यसले पूर्ण राजनीतिक समाधान दिने निश्चित भने गर्दैन।

सैन्य जित हासिल गर्नु एउटा कुरा हो भने इरानको राजनीतिक विचारधारा बदल्नु अर्कै कुरा हो। इरानको नयाँ नेतृत्व अझै पनि आफ्नो क्रान्तिकारी विचारधारा र पश्चिमा विरोधी नीतिमा अडिग रहने सम्भावना छ। त्यसैले सैन्य सफलताले मात्रै दीर्घकालीन शान्ति आउनेमा आशंका कायमै छ।

१०. युद्धको अनिश्चित भविष्य र अन्त्य:

कुनै पनि युद्ध सुरु भएपछि यसको आफ्नै गति हुन्छ र सुरुमा नसोचिएका परिणामहरू निस्कन सक्छन्। यो युद्ध कहाँ गएर टुङ्गिन्छ भन्ने भविष्यवाणी गर्न असम्भव छ। वाशिंगटनको लागि अहिलेको मुख्य चिन्ता भनेको यो सैन्य अभियानबाट सुरक्षित रूपमा बाहिर निस्कने ‘अफ-र्याम्प’ वा स्पष्ट अन्त्यको अभाव हो। यदि इरानमा बाँकी रहेको शासनविरुद्ध त्यहाँका जनताले विद्रोह गरे भने, शासनले त्यसलाई क्रूरतापूर्वक दबाउन सक्छ। त्यस्तो अवस्थामा के अमेरिकाले इरानी जनताको रक्षाका लागि थप सैन्य बल प्रयोग गर्ला? यस्ता गम्भीर प्रश्नहरू अहिले अमेरिकी प्रशासनको अगाडि खडा छन् जसको जवाफ अहिल्यै स्पष्ट छैन।
(यो विश्लेषण सीएनएनका ब्रेट म्याकगर्कको लेखमा आधारित छ।)

Read more news from नेपाल न्युज

Explore by Source or Category