अलोन्सोले रियलको प्रशिक्षक पद त्यागे
एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जाबी अलोन्सोले ८ महिनाभन्दा कम समयमै आफ्नो पद छाडेका छन्।
क्लबले आपसी सहमतिमा अलोन्सोसँग अलग भएको जनाएको छ। उनको स्थानमा रियलले पूर्व खेलाडी आल्भारो आर्बेलोआलाई नयाँ प्रशिक्षक नियुक्त गरिएको छ।
४४ वर्षीय अलोन्सोले गत मे महिनामा कार्लो एन्सेलोटीको स्थानमा रियलको जिम्मेवारी सम्हालेका थिए। तर आइतवार स्पेनिस सुपर कपमा बार्सिलोनासँग पराजित भएपछि उनको भविष्यबारे प्रश्न उठेको थियो। ला लिगमा पनि रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा ४ अंकले पछि छ।
सन्चारमाध्यमका अनुसार सुपर कप फाइनलअघि अलोन्सो र स्ट्राइकर किलियन एमबाप्पेबीच खेल रणनीतिबारे विवाद भएको थियो। त्यसैगरी क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग पनि उनको मतभेद भएको बताइएको छ।
क्लबले जारी गरेको विज्ञप्तिमा अलोन्सोलाई रियल म्याड्रिडको ‘लेजेन्ड’ भन्दै उनको योगदानको प्रशंसा गरिएको छ। साथै भविष्यका लागि शुभकामना पनि दिइएको छ।
अलोन्सोको प्रशिक्षणमा रियलले ३४ खेलमध्ये २४ जित निकालेको थियो। तर यस सिजन एट्लेटिको म्याड्रिडसँग ५-२ को हार, सेल्टा भिगोसँगको पराजय र च्याम्पियन्स लिगमा लिभरपुल तथा म्यानचेस्टर सिटीसँगको हारले दबाब बढाएको थियो।
नयाँ प्रशिक्षक बनेका ४२ वर्षीय आल्भारो आर्बेलोआ यसअघि क्लबको ‘बी’ टोलीको प्रशिक्षण गर्दै आएका थिए। उनले पहिलो पटक सिनियर टोली सम्हाल्न लागेका हुन्।
The post अलोन्सोले रियलको प्रशिक्षक पद त्यागे first appeared on हाम्रो खेलकुद.