npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

उच्च शिक्षा बन्यो जनकपुरको चुनावी मुद्दा

वीरेन्द्र रमण 3 hours ago

२०६३ सालको मधेस आन्दोलनअघि जनकपुरकै पुरानो रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पस विद्यार्थीहरूले खचाखच भरिएको देखिन्थ्यो। त्यतिबेला क्याम्पस क्षेत्रमा रहेको साइकल स्ट्यान्डमा साइकल राख्न पनि कुपन लिनुपर्ने बाध्यता थियो।

तर, यतिबेला साइकल स्ट्यान्ड सुनसान देखिन्छ। कक्षाकोठामा जमेको धुलोले यहाँको शैक्षिक अवस्थाको बयान गरिरहेको छ। भर्नाको हिसाबले विद्यार्थी संख्यामा कुनै कमी आएको छैन। दुई हजारभन्दा बढी विद्यार्थीको नाम त अहिले पनि भर्नापुस्तिकामा यथावत् छ। तर, व्यवस्थापकीय अव्यवस्थाका कारण उनीहरू नियमित पठनपाठनका लागि क्याम्पस धाउँदैनन्। एकै पल्ट परीक्षामा मात्र देखा पर्छन्। त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा २०१४ सालमा स्थापना भएको यो क्याम्पस जनकपुरधामकै पुरानो शैक्षिक संस्थामध्ये एक हो। यस हिसाबले यहाँको शैक्षिक इतिहासमा यस क्याम्पसको महत्त्वपूर्ण स्थान छ।

क्याम्पसअगाडि लामो समयदेखि नास्ता पसल चलाउँदै आएकी श्यामकली देवी साह भन्छिन्, “परीक्षाको दिन विद्यार्थीको मोटरसाइकल र साइकलले सडक जाम हुन्छ। अन्य दिन क्याम्पस क्षेत्र सुनसान बन्ने गरेको छ।”

पहिलेको तुलनामा ५० प्रतिशत कर्मचारी घटिसकेको अवस्थामा क्याम्पसलाई यतिबेला पुरानो वैभव फर्काउने चुनौती छ। क्याम्पसका पूर्वकर्मचारी रामविनय राय भन्छन्, “भाषण त पहिले पनि धेरै सुनेको हो। अब सुधार भएन भने केही वर्षपछि मधेसको यो धरोहर लोप भएर जान्छ।”

राराब क्याम्पसको सुनसान साइकल स्ट्यान्ड।

यही क्याम्पसमा लामो समय अर्थशास्त्रको अध्यापन गरिसकेका भोगेन्द्र झा यो अवस्था आउनुमा जनकपुरवासी पनि दोषको भागी रहेको बताउँछन्। भन्छन्, “क्याम्पसको अवस्था खस्किँदै जाँदा विगतमा यसको सुधारका लागि नागरिक स्तरबाट बहस भएन।”

दुई वर्षयता क्याम्पस प्रमुखको भूमिका निर्वाह गरिरहेका वसन्त कर्ण आफू नियुक्त भएपछि क्याम्पसको अवस्था अलिकति बदलिएको दाबी गर्छन्। भन्छन्, “म क्याम्पस प्रमुख नियुक्त हुँदा क्याम्पसको हिसाबकिताब नै थिएन। फेरि मलाई हतोत्साह बनाउने चलखेल सुरु भयो। अहिले क्याम्पस जे-जस्तो अवस्थामा देखिएको छ, त्यो सुधार नै हो। तर, अपर्याप्त छ।”

जनकपुरमा राराब क्याम्पस मात्र होइन, राजर्षि जनक विश्वविद्यालयको अवस्था पनि उस्तै छ। मैथिली भाषा, कला र संस्कृतिको प्रवर्द्धन तथा प्राविधिक विषयको पठनपाठनका लागि १२ कात्तिक २०७४ मा राजर्षि जनक विश्वविद्यालयको स्थापना भएको थियो। देशको सबैभन्दा पाको त्रिभुवन विश्वविद्यालयले जिल्लामा आफू मातहत रहेको कर्मचारी र सम्पत्ति यस विश्वविद्यालयसँग समायोजन गर्न नमानेपछि अहिले यो विश्वविद्यालय भाडाको घरबाट सञ्चालन भइरहेको छ। र, यस विश्वविद्यालय मातहत ८० शैक्षिक संस्थाले सम्बन्धन प्राप्त गरिसकेका छन्। १५३ विद्यार्थीबाट सुरु भएको यस विश्वविद्यालयमा अहिले नयाँ नयाँ कोर्स थपिएपछि विद्यार्थी संख्या दुई हजारभन्दा बढी छ।

राराब क्याम्पस शैक्षिक भवन।

विश्वविद्यालयका उपकुलपति अमरप्रसाद यादव क्याम्पसको परीक्षाफल राम्रो रहेको र सरकारी सहयोग प्राप्त भए अझै राम्रो गर्न सकिने बताउँछन्।

त्रिपक्षीय भिडन्त

जनकपुरधाममा खस्कँदो शिक्षालाई लिएर सर्वत्र चासो बढिरहेको बेला धनुषा ३ का उम्मेदवारले यी दुवै विश्वविद्यालय र क्याम्पस सुधारलाई आफ्नो प्रमुख चुनावी अजेन्डा बनाएका छन्। धनुषा ३ मा दलीय र स्वतन्त्र गरी ४७ उम्मेदवारबीच चुनावी मैदानमा छन्। तर पनि, नेपाली कांग्रेसका पुराना उम्मेदवार विमलेन्द्र निधिसँगै नेकपा (एमाले)की जुलीकुमारी महतो र राष्ट्रिय स्वतन्त्र पार्टीका मनीष झाबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।

यस पटक राराब सुधार र राजर्षि जनक विश्वविद्यालयको सुधार भने सबै राजनीतिक दलको साझा अजेन्डा बनेको छ।

कुनै समय कांग्रेसको ‘गढ’ भनेर चिनिएको धनुषा ३ मा पछिल्ला दुई निर्वाचनमा अन्य दलहरूले बाजी मारेका थिए। मधेस आन्दोलनलगत्तै २०७४ सालमा भएको निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का राजेन्द्र महतो निर्वाचित भए। बाहिरी उम्मेदवारको नारा चले पनि मधेस आन्दोलनको रापतापमा भएको त्यस निर्वाचनमा महतोले कांग्रेसका निधिलाई पराजित गरे।

२०७९ सालमा भएको निर्वाचनमा गठबन्धनको भागबन्डामा यो क्षेत्र तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को हिस्सामा परेको थियो। कांग्रेसले त्यस चुनावमा लोसपाका अनिल झालाई समर्थन गर्‍यो। झालाई एमालेकी जुलीले पराजित गरेकी थिइन्। निधि समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेका थिए।

एमालेकी जुलीलाई यसपालि जित दोहोर्‍याउने दबाब छ। त्यस्तै, देशभरि चलेको ‘घन्टी चुनाव चिह्नको हावा’ को फाइदा उठाउँदै रास्वपाका झा पहिलो जितको खोजीमा छन्।

२०७९ सालको निर्वाचनमा धनुषा ३ (ख) बाट प्रदेशसभा सदस्यमा पराजित जसपा नेपालका परमेश्वर साह प्रतिनिधिसभा सदस्यका लागि पहिलो जित निकाल्ने प्रयासमा जुटेका छन्। अन्य उम्मेदवारहरू पनि चुनावी मैदानमा रहे पनि धनुषा ३ मा यिनै उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ।

जनकपुरधाम उपमहानगरपालिकाका १७ वडाभित्र ६३ हजार ७६६ र धनौजी गाउँपालिकामा १४ हजार ७४२, नगराइन नगरपालिकामा २७ हजार २७४, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा १७ हजार १९९ र विदेह नगरपालिकाको वडा नम्बर ९ का दुई हजार ९४६ गरी कुल एक लाख २५ हजार ९२७ मतदाता छन्।

निधिले विगतमा विभिन्न मन्त्रीको जिम्मेवारी सम्हालेपछि गरेका कामलाई आधार बनाएर मत मागिरहेका छन्। निधिले हवाई मार्गको स्तरोन्नति, रेलवे सेवाको विस्तार, व्यापारिक मार्गको निर्माणलगायत काम गरेको र अब आउने दिनमा महिलाका लागि अस्पताल निर्माण र किसानका लागि मल कारखाना स्थापनालगायत अजेन्डा अघि सारेर मत मागिरहेका छन्। तर, यस पटक राराब सुधार र राजर्षि जनक विश्वविद्यालयको सुधार भने सबै राजनीतिक दलको साझा अजेन्डा बनेको छ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा धनुषा ३ मा  कांग्रेसले प्रत्यक्षतर्फ उम्मेदवारी नदिँदा पनि समानुपातिकतर्फ उल्लेख्य मत प्राप्त गरेको थियो। समानुपातिकतर्फ कांग्रेसले २५ हजार १९५ मत ल्याउँदा एमालेले १७ हजार ८७४ मत हासिल गरेको थियो। धनुषा ३ मा जनकपुरधाम उपमहानगरपालिकाका २५ मध्ये १७ वडा र दक्षिणमा पर्ने धनौजी गाउँपालिका, नगराइन नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र विदेह नगरपालिकाको वडा नम्बर ९ गरी कुल ३८ वडा पर्छन्।

जनकपुरधाम उपमहानगरपालिकाका १७ वडाभित्र ६३ हजार ७६६ र धनौजी गाउँपालिकामा १४ हजार ७४२, नगराइन नगरपालिकामा २७ हजार २७४, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा १७ हजार १९९ र विदेह नगरपालिकाको वडा नम्बर ९ का दुई हजार ९४६ गरी कुल एक लाख २५ हजार ९२७ मतदाता छन्।

२०७९ सालको स्थानीय तहको चुनावमा जनकपुरधाम उपमहानगरपालिका, धनौजी गाउँपालिका र नगराइन नगरपालिकामा कांग्रेसले जितेको थियो भने मुखियापट्टी मुसहरनिया गाउँपालिकामा जसपा नेपालको नेतृत्व रहेको छ। यसो त मधेसको राजनीतिमा पटके उम्मेदवारभन्दा पनि जातीय ध्रुवीकरणले जितहारको निर्धारण गर्ने गरेको छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category