झापाको कनकाईमा बस र पिकअप ठोक्किँदा आमा-छोराको मृत्यु, ११ घाइते
विराटनगर । झापाको कनकाई नगरपालिका-३ नयाँ बस्तीस्थित पूर्व-पश्चिम लोकमार्गमा बिहीबार बिहान भएको भीषण सवारी दुर्घटनामा परी आमा-छोराको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्। बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस बिहान करिब साढे ९ बजे एक-आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा परी भद्रपुर नगरपालिकाका डेढ वर्षीय बालक आरुति राजवंशी र उनकी ४० वर्षीया आमा सुस्मा राजवंशीको ज्यान गएको छ। गम्भीर घाइते बालकको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा र उनकी आमाको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
पिकअपमा सवार अन्य ११ जना घाइतेमध्ये बी एण्ड सी अस्पतालमा उपचाररत ३ जनाको अवस्था सामान्य छ। बिर्तासिटी अस्पतालमा उपचाररत ८ जनामध्ये पाथल राजवंशी र आफुद राजवंशीको अवस्था गम्भीर रहेको छ भने पुष्पलाल राजवंशी, टेमुना राजवंशी र अन्जली राईको अवस्था मध्यम रहेको छ। सोही अस्पतालमा उपचार गराइरहेका आशिष राजवंशी, अभिषेक राजवंशी र कृतिका राजवंशीको अवस्था भने सामान्य रहेको प्रहरीले उल्लेख गरेको छ।
दुर्घटनापछि बस चालक फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पिकअप चालक झापा बिर्तामोड नगरपालिका–६ बस्ने ३९ वर्षीय जाकिर हुसेनलाई भने प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।