PalikaNews
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षणपछि धनुषा–सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले व्यक्त गरेको छ ।
हुलाकी राजमार्गअन्तर्गत तराई–मधेसको महत्वपूर्ण जीवनरेखा मानिने यो पुल विसं २०६८ मा तीन वर्षमै सक्ने सम्झौतासहित सुरु भए पनि १४ वर्षसम्म अधुरै रहँदै आएको हो ।
मन्त्री घिसिङले शुक्रबार पुल निर्माणस्थलमा पुगेर स्थानीयले वर्षौँदेखिको जोखिम र सास्ती भोगिरहेको यथार्थ नजिकबाट अवलोकन गर्नुभयो। उनले डुङ्गा चढेर नदी पार गर्दै दैनिक जोखिममा यात्रा गर्ने स्थानीयको पीडा प्रत्यक्ष अनुभव गर्नुभएको थियो। सामाजिक सञ्जालमा आफ्नो अनुभूति लेख्दै मन्त्री घिसिङले पुल अलपत्र हुँदा स्थानीयले भोग्नुपरेको कष्ट अत्यन्त चुनौतीपूर्ण रहेको बताएका छन् ।
निरीक्षणको क्रममा स्थानीयको तत्काल आवत–जावत सहज बनाउन अस्थायी विकल्पबारे छलफल भएको र आवश्यक प्रक्रिया अघि बढाइने मन्त्री घिसिङले जानकारी दिनुभयो। प्राविधिक विषयमा उठेका प्रश्नका सम्बन्धमा सम्बद्ध निकाय जिम्मेवार रहने र मन्त्रीस्तरीय अनुगमन निरन्तर रहने उनले स्पष्ट पारेका छन् ।
निर्माण कम्पनी लुम्बिनी बिल्डर्स का सञ्चालक विष्णुप्रसाद शर्माले मन्त्रीसमक्ष तीन महिनाभित्र पुल सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएका छन्। यसअघि पप्पु कन्स्ट्रक्सनलाई दिइएको यो ठेक्का समयमै सम्पन्न नहुँदा पप्पु कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनी बिल्डर्सले बुझेर अघि बढाउँदै आएको हो ।
कमला नदीको ४६९ मिटर लम्बाइ भएको यो पुलमा हाल ८३ प्रतिशत भौतिक र ८२ प्रतिशत वित्तीय प्रगति भएको छ। विसं २०७८ असार १७ को बाढीले पुलका दुई जग भासिँदा ठूलो क्षति पुगेको थियो। पुलको निर्माण सम्झौता अहिले नवौँ म्याद थप प्रक्रियामा रहेको छ।
शुक्रबारको स्थलगत निरीक्षणमा मन्त्री घिसिङसँगै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशी, हुलाकी राजमार्ग निर्देशनालयका अधिकारीहरू, योजनाकार, जनप्रतिनिधि र स्थानीय अगुवाहरू सहभागी थिए।
कमला नदीको यो पुल मधेस प्रदेशको यातायात सुगमता, सुरक्षा, व्यापार र आर्थिक विकासका लागि महत्वपूर्ण पूर्वाधार मानिन्छ। मन्त्रालयले अब नियमित अनुगमन र आवश्यक सहयोगमार्फत कामलाई तोकिएको समयमै पूरा गराउने प्रतिबद्धता व्यक्त गरेको छ।