npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

मध्यपूर्व युद्ध : नागरिकमाथिको बढ्दो असरप्रति संयुक्त राष्ट्रसंघ स्तब्ध

नेपालन्युज 10 hours ago

जेनेभा। मध्यपूर्वमा तीव्र बन्दै गएको युद्धका कारण सर्वसाधारणमाथि परेको गम्भीर मानवीय असरप्रति संयुक्त राष्ट्रसंघले गहिरो चिन्ता व्यक्त गरेको छ।

संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले मंगलबार सन्देश जारी गर्दै क्षेत्रभरि फैलिएको डर, आतंक र अनिश्चितताले लाखौँ मानिसको जीवन असुरक्षित बनाएको बताएका छन्।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उनकी प्रवक्ता रविना शामदासानीले उच्चायुक्त टर्क ‘गहिरो स्तब्ध’ भएको जानकारी दिइन्। उनले मध्यपूर्व मात्र नभई बाहिरका देशहरूमा समेत यस द्वन्द्वले सिर्जना गरेको मानसिक त्रास र अस्थिरता स्पष्ट देखिएको उल्लेख गरिन्। “लाखौँ मानिसले भोगिरहेको डर, आतंक र चिन्ता स्पष्ट छ- र यो अवस्था पूर्ण रूपमा टार्न सकिने थियो‚” उनले भनिन्।

शामदासानीका अनुसार गत शनिबार इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरेपछि स्थिति झन् जटिल बनेको छ। त्यसको प्रतिक्रियास्वरूप इरानले क्षेत्रका विभिन्न राज्यविरुद्ध कदम चालेको र हिजबुल्लाहसमेत द्वन्द्वमा प्रवेश गरेको घटनाले नागरिक तथा नागरिक पूर्वाधारमाथि व्यापक प्रभाव पारेको उनले बताइन्। “स्थिति प्रत्येक घण्टासँगै बिग्रँदै र फराकिलो बन्दै गएको छ, जसले हाम्रो सबैभन्दा खराब आशंकालाई सतहमा ल्याइरहेको छ‚” उनले स्पष्ट गरिन्।

उच्चायुक्त टर्कले युद्धसम्बन्धी अन्तर्राष्ट्रिय कानुनको स्मरण गराउँदै नागरिक र नागरिक वस्तुहरू सुरक्षित राखिनुपर्ने दायित्व सबै पक्षको भएको दोहोर्‍याए। सबै राज्य तथा सशस्त्र समूहहरूले कानुनी दायित्वको पूर्ण पालना गर्नुपर्ने उनको आग्रह छ।

उनले सबै पक्षलाई अधिकतम संयम अपनाउन, थप सैन्य विस्तार रोक्न र नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारको संरक्षणका लागि सम्भव सबै उपाय अवलम्बन गर्न आह्वान गरेका हुन्। बढ्दो हिंसा र प्रतिशोधको चक्रले क्षेत्रीय स्थायित्वलाई मात्र नभई, मानवीय अवस्थालाई पनि झन् भयावह बनाउने संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कको चेतावनी छ।

“वार्ताको टेबलमा फर्कनु नै हत्या, विनाश र निराशाको अन्त्य गर्ने एक मात्र उपाय हो‚” शामदासानीले उच्चायुक्तको भनाइ उद्धृत गर्दै भनिन्, “उच्चायुक्तले सबै पक्षलाई होसमा आउन र यो हिंसा अन्त्य गर्न आग्रह गर्नुभएको छ।”

Read more news from नेपाल न्युज

Explore by Source or Category