Sutra News
मतदातालाई कसले पैसा बाँड्दै छ ?
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन आउन बुधबार ८ दिन बाँकी छ । राजनीतिक दल र उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन् । चुनावी सभादेखि घरदैलो कार्यक्रम भइरहेका छन् । यस्ता चुनावी कार्यक्रम भइरहँदा अधिकांशले सुन्ने गरेको वाक्य हो– चुनावमा उम्मेदवारले मतदातालाई पैसा बाँड्छन् ।
हरेक निर्वाचनमा उम्मेदवारले पैसा नबाँडेसम्म चुनाव जितिन्न भनिन्छ । आसन्न निर्वाचननजिकिँदै जाँदा ‘मतदातालाई पैसा बाडिन्छ’, ‘पैसा नबाँडी हुँदैन,’ ‘मासुभात खुवाउनुपर्छ,’ ‘मदिराको व्यवस्था गर्नुपर्छ’जस्ता विषयले अहिले पनि चर्चा पाइरहेको छ ।
बुधबार सिरहामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रास्वपा सभापति रवि लामिछानेले पनि पैसा दिएमा लिन र भोट भने सही व्यक्तिलाई हाल्न आग्रह गरे । गलत मान्छेले पैसा दिए लिन र भोट भने सही व्यक्तिलाई नै हाल्न उनको आग्रह छ ।
पैसामा आफ्नो भविष्य नबेच्न मतदातालाई सभापति लामिछानेले सचेत गराउँदै भने, ‘कसैले पैसा दिए भने लिए हुन्छ, किनकि हाम्रो चोरेको पैसा हो त्यो । हाम्रै पैसा चोरेर लगेर हामीलाई नै बाँड्छ भने आफ्नै पैसा लिँदा पाप लाग्दैन । तर, गलत मान्छेलाई भोट हाल्यो भने पाप लाग्छ । पैसामा आफ्नो भविष्य नबेच्नुहोला ।’
रास्वपा सभापति लामिछानेले मात्र होइन अधिकांश दलका उम्मेदवार, नेता, कार्यकर्ता र मतदाताहरुले पनि चुनावमा पैसा बाँडिने बनाउने गरेका छन् । तर, अघिल्ला निर्वाचनमा जस्तै अहिले पनि कुन उम्मेदवारले कहाँ र कसरी पैसा बाँडिरहेको छ भनेर बाहिर आएको छैन/आउँदैन । हरेक निर्वाचन क्षेत्रमा विभिन्न पार्टीका उम्मेदवार, नेता र कार्यकर्ता हुन्छन् । उनीहरुले पैसा बाँडिरहेकालाई नियन्त्रणमा लिएको सुनिएको छैन । प्रहरीले पनि पक्राउ गरेको खबर सार्वजनिक भएको छैन । निर्वाचन आयोगले पनि पैसा बाँडेको आधारमा कसैलाई कारबाही गरेको देखिँदैन । तर, हरेक निर्वाचनमा मतदातालाई पैसा बाँडिने विषयले भने चर्चा पाइरहेको हुन्छ ।