npl.977 Nepal News Stream

Taksar News logo Taksar News

पश्चिम एसियाली द्वन्द्वले आपूर्ति शृङ्खलामा जोखिम, व्यापार विविधीकरण अपरिहार्य छ: वाणिज्यविद् सैंजु

टक्सार न्युज 12 hours ago

काठमाडाैँ । वाणिज्यविद् रवि शंकर सैंजुले पश्चिम एसियामा बढ्दो द्वन्द्वले नेपालको आपूर्ति शृङ्खलामा प्रत्यक्ष असर पार्न सक्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘पश्चिम एसियाको द्वन्द्व: नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक कार्यक्रममा बोल्दै उनले नेपालको वैदेशिक व्यापार सीमित क्षेत्र र सीमित बजारमा केन्द्रित भएकाले भविष्यमा ठूलो जोखिम निम्तिन सक्ने औँल्याएका हुन् ।

उनका अनुसार नेपालको व्यापार संरचना विविधीकृत नभएकाले यस्ता अन्तर्राष्ट्रिय संकटका बेला आपूर्ति व्यवस्थामा चाप पर्न सक्छ। त्यसैले आयात–निर्यात दुवै क्षेत्रमा बजार र स्रोतको विविधीकरण अपरिहार्य रहेको उनले बताए।

सैंजुले युद्धको असर खाडी मुलुकबाट आउने रेमिट्यान्स तथा त्यतै केन्द्रित निर्यातमा देखिन सक्ने उल्लेख गरे। द्वन्द्व लम्बिँदै गएमा श्रम बजार र वैदेशिक रोजगारीमा समेत प्रभाव पर्न सक्ने उनको भनाइ छ।

उनले सामान्य अवस्थामा नेपालमा करिब १२ देखि १५ दिनसम्मको खपत धान्न सक्ने वस्तु सञ्चिति रहने गरे पनि त्रासका कारण अहिले त्यो अवधि घटेर करिब ८ दिनसम्म सीमित हुन सक्ने बताए। उपभोक्तामा बढ्दो डरका कारण अनावश्यक भण्डारण बढ्दा आपूर्ति व्यवस्थामा असन्तुलन आउन सक्ने उनको विश्लेषण थियो।

भारतबाट नियमित आपूर्ति भइरहेसम्म नेपालमा ठूलो समस्या नदेखिए पनि भारतले अन्य मुलुकबाट आयात गर्नुपर्ने अवस्था आए मूल्यवृद्धि हुन सक्ने उनले संकेत गरे। ढुवानीमा लाग्ने समय लम्बिनु र बिमा लागत बढ्नुले वस्तुको अन्तिम मूल्यमा थप चाप पर्ने उनको भनाइ छ।

Read more news from Taksar News

Explore by Source or Category