PalikaNews
झुट्टा टेण्डरको सूचना देखाएर भुक्तानी आरोपमा छिपहरमाईका अध्यक्षसहित पाच जनाविरुद्ध मुद्दा दायर
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको छिपहरमाई गाउँपालिकामा बोलपत्र आह्वानसम्बन्धी झुट्टा सूचना प्रकाशित गरी सरकारी रकम दुरुपयोग गरिएको ठहर गर्दै गाउँपालिका अध्यक्ष सहित कर्मचारी र निर्माण व्यवसायीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार आर्थिक वर्ष २०७९–०८० मा छिपहरमाई गाउँपालिकाले विभिन्न निर्माण कार्यका लागि ठेक्का आह्वान गर्दा राष्ट्रियस्तरको सौर्य दैनिक पत्रिकामा सूचना प्रकाशित गरिएको देखाएर भुक्तानी गरिएको थियो। तर अनुसन्धानका क्रममा उक्त मितिमा पत्रिकामा कुनै पनि सूचना प्रकाशित नभएको पुष्टि भएको हो ।
अख्तियारका प्रवक्ता तथा सहसचिव सुरेश न्यौपानेका अनुसार गाउँपालिका अध्यक्ष मनोज कुमार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साह, तत्कालीन लेखापाल संजय पटेल र विज्ञापन एजेन्सी केएस मल्टिपर्पोज प्रालि, वीरगंजका सञ्चालक कमलकुमार उपाध्यायको मिलेमतोमा योजनाबद्ध रूपमा झुट्टा सूचना प्रकाशन गरिएको देखिएको छ ।
आयोगका अनुसार खानेपानीका लागि ट्युबवेल जडान, छिपहरमाई स्टेडियम निर्माण, चार कोठे भवन निर्माण तथा दलित आवास भवन निर्माण सम्बन्धी ठेक्कामा बोलपत्र आह्वानको सूचना सौर्य दैनिकमा प्रकाशित भएको देखाउँदै विज्ञापन एजेन्सीलाई भुक्तानी गरिएको थियो । तर प्रेस काउन्सिल नेपालबाट प्रमाणित हार्डकपी र पीडीएफ प्रतिमा सो सूचना प्रकाशित भएको नदेखिएको पुष्टि भएको छ ।
यसरी बदनियतपूर्वक सूचना लुकाउने मनसायले केएस मल्टिपर्पोज प्रालिलाई दुई पटकमा जम्मा ४ लाख २९ हजार ४ सय रुपैयाँ भुक्तानी गरिएको आयोगको ठहर छ। यसबाट गैरकानूनी लाभ लिइएको तथा सरकारी सम्पत्तिमा हानि पु¥याइएको पुष्टि भएको आयोगले जनाएको छ ।
अख्तियारले गाउँपालिका अध्यक्ष मनोज कुमारविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना र बिगो असुल उपरको सजाय मागदाबी गरेको छ। साथै ऐनको दफा २४ अनुसार थप सजायको माग पनि गरिएको छ ।
त्यस्तै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साह र लेखापाल संजय पटेलविरुद्ध पनि जनही ४ लाख २९ हजार ४ सय रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी लिइएको छ । विज्ञापन एजेन्सी केएस मल्टिपर्पोज प्रालि र कम्पनीका सञ्चालक कमलकुमार उपाध्यायलाई मुख्य कसूरदारका मतियारका रूपमा अभियोग लगाउँदै सोही बिगो बराबरको सजाय माग गरिएको आयोगले जनाएको छ ।
प्रतिवादी बनाइएका कमलकुमार उपाध्याय हाल मधेश प्रदेश मिडिया काउन्सिलका रजिष्ट्रार हुन्। यसअघि उनी बाराको पचरौता नगरपालिकाका दुई वटा ठेक्काको टेण्डर सूचना राष्ट्रियस्तरको दैनिकमा प्रकाशन गर्नुपर्नेमा झुट्टा बील भरपाइ बनाई ३ लाख ५२ हजार ५ सय ६० रुपैयाँ हिनामिना गरेको अभियोगमा दोषी ठहर भइसकेका व्यक्ति हुन् ।
उनी रजिष्ट्रार नियुक्त भएको दोस्रो दिनमै अख्तियारले गत वैशाख ९ गते विशेष अदालतमा दायर गरेको मुद्दामा ६ महिना कैद र १ लाख १७ हजार ५ सय २० रुपैयाँ जरिवाना तिराउने फैसला भएको थियो । उपाध्याय नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष तथा प्रेस चौतारी नेपालका पूर्वसचिव समेत हुन् भने बाराबाट प्रकाशन हुने कृपा दैनिकका प्रकाशक तथा सम्पादक पनि हुन्।