npl.977 Nepal News Stream

Sutra News logo Sutra News

नुवाकोट–१ : जनताको भट्टीमा दुई डाक्टरको पहिलो परीक्षण, प्रकाश कि विक्रममध्ये कसको होला पल्लाभारी ?

सुत्र न्युज 6 days ago

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब एक साता मात्र बाँकी छ । राजनीतिक दल र उम्मेदवारहरु चुनावी परीणाम आफ्नोतर्फ तान्न प्रचारप्रसारमा जुटेका छन् । यही मेसोमा छन् नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा. प्रकाशशरण महत र डा. विक्रम तिमिल्सिना । दुवै उम्मेदवार पहिलोपटक जनतामाझ परीक्षण हुँदैछन् ।

चुनावै नलडे पनि सत्ता र राजनीतिक शक्तिको रापताप अनुभव गरेका डा. महत र यसको कुनै अनुभव नगरेका ‘भर्जिन’ नेता विक्रम नुवाकोट–१ को चुनावी मैदानमा छन् । अन्य उम्मेदवार पनि यो क्षेत्रमा प्रतिस्पर्धामा छन् । तर, मुख्य यी दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ । प्रकाशशरण कांग्रेसका र विक्रम रास्वपाबाट उम्मेदवार बनेका हुन् ।

डा. प्रकाशशरण राजनीतिक अनुभवी नेता हुन् भने विक्रम राजनीतिक सिक्दै र जनतामाझ पुग्दै गरेका नेता हुन् । तर, यी दुई नेतामा एउटा विषय भने मिलेको छ, त्यो हो दुवै पहिलोपल्ट चुनावी मैदानमा उत्रिएर जनता माझ परीक्षणमा गएका छन् ।

दाजु डा. रामशरण महतको आड भरोसा र उनले कोरेको बाटो हुँदै राजनीतिक यात्राको उचाइमा पुगेका डा. प्रकाशशरण पहिलो पटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धा छन् । समानुपातिक हुँदै पटक पटक सांसद र मन्त्री भइसकेका उनी यसपटक प्रत्यक्ष जनताको मतको भट्टीबाट आफूलाई परीक्षण गराउँदैछन् ।

नुवाकोट–१ का जनताको विश्वास जितेर को चुनिन्छन् जनप्रतिनिधि ? यसको जवाफ अन्तिम चुनावी परीणामसम्म कुर्नुपर्ने हुन्छ । तर, सो क्षेत्रका मतदातासँग कुरा गर्दा प्रकाशशरणलाई विक्रमले राम्रै टक्कर र चुनौती दिइरहेको देखिन्छ ।

यो क्षेत्रको पूर्वी भेकमा तामाङ समुदायको बाहुल्यता छ । यसर्थ दुई दुई पटक माओवादीबाट चुनाव जितेका हितबहादुर तामाङले पनि भोट काट्ने सम्भावना नकार्न सकिँदैन ।

तल्लोबेल्ट अर्थात शिवपुरी–६ सुरु भएपछि तामाङ बाहुल्यता कम हुँदै जाँदा खस आर्यको बाहुल्यता धेरै देखिन्छ । तादी, पन्चकन्या र ककनीमा प्रकाशशरणको प्रभाव अलि बढी देखिए पनि दुप्चेश्वर, शिवपुरी, तादी, सूर्यगढी र लिखुको अधिकांश मतदाताहरु रास्वपा उम्मेदवार विक्रमप्रति सकारात्मक र आकर्षित देखिएका छन् ।

प्रकाशशरण पटक पटक सांसद र अर्थमन्त्री भएका उम्मेदवार हुन् भने विक्रम पहिलोपटक राजनीतिक अनुभव गरिरहेका नेता हुन् ।
प्रकाशशरण अर्थशास्त्री नेता हुन् भने विक्रम अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि (पीएचडी) र दुई वटा विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका विद्वान् नेता हुन ।

विक्रम जेनजी आन्दोलनको भावना र मर्मअनुसार उदाएका एक नेता हुन् । प्रकाशशरण र विक्रम दुवै नुवाकोटका जनताका लागि विकास गरौं भन्ने भावनासहित मैदानमा उत्रिएको बताउँछन् ।

नुवाकोटका जनतासँग त्यति भिजेका नेता भने होइनन् प्रकाशशरण । पुराना मतदाताले उनका दाजु रामशरण महतलाई भने निकै चिन्छन् । दाजु रामशरणमार्फत आफूलाई चिनाउन र जनतामाझ जान प्रकाशशरणलाई सहज बनाइदिएको छ । प्रकाशशरणले बालाजु बाइपासदेखि ककनीसम्मको बाटो स्तरोन्नतिका लागि आफू अर्थमन्त्री हुँदा बजेट विनियोजन गरेका थिए । अहिले त्यसैलाई भोट माग्ने हतियारमा रुपमा उनले प्रयोग गरेको मतदाता बताउँछन् ।

सामाजिक सञ्जाल र इन्टरनेटको दुनियाँको रापतापमा देखिन्छ रास्वपा । यही पार्टीको उम्मेदवार हुन विक्रम । देशभर रास्वपाप्रति बढेको ‘क्रेज’का माझ उनले प्रकाशशरणलाई निकै टक्कर र चुनौती दिइरहेका छन् । विक्रमको मुख्य चुनावी एजेन्डा र अभियान नुवाकोटलाई ‘आधुनिक, रोजगारमुखी, शिक्षित, विकसित र समृद्ध’ क्षेत्रमा रूपान्तरण गर्ने भावना वरिपरि छ । मुख्य प्रतिबद्धताहरूमा पूर्वाधार (सडक, सुरुङ), पर्यटन विकास, कृषि सहायता र प्राविधिक कलेज तथा विशेषज्ञ अस्पताल स्थापना गर्ने समेत समावेश छ । उनको पृष्ठभूमि भू–राजनीति, जलवायु परिवर्तन, शान्तिप्रक्रिया र सामाजिक समावेशीकरणजस्ता विषयहरूमा अनुसन्धानमा आधारित छ ।

Read more news from Sutra News

Explore by Source or Category