लिभरपुलको जित
एजेन्सी – फ्रान्सेली फरवार्ड ह्युगो एकिटिकेले एक गोल गर्नुका साथै २ गोलका लागि पास मिलाइदिएपछि लिभरपुलले प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडलाई ५-२ ले पराजित गरेको छ।
जितसँगै लिभरपुलले शीर्ष चारमा पुग्ने आफ्नो लक्ष्यलाई मजबुत बनाएको छ। एन्फिल्डमा भएको खेलमा वेस्ट ह्यामले आक्रामक प्रदर्शन गरे पनि प्रशिक्षक आर्ने स्लटको टोलीलाई रोक्न सकेन।
यो जितसँगै लिभरपुल प्रिमियर लिग तालिकाको चौथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी गरेको छ।
लिभरपुलले पहिलो हाफमै ३ गोल गर्यो र ती सबै कर्नर प्रहारबाट सम्भव भए। खेलको पाँचौं मिनेटमा डोमिनिक सोबोस्लाईको कर्नरबाट आएको बललाई एकिटिकेले गोल गरे।
२४औं मिनेटमा सोबोस्लाईकै अर्को कर्नरमा भर्जिल भान डाइकले हेड गरे। पहिलो हाफ सकिन दुई मिनेट बाँकी हुँदा एलेक्सिस म्याक एलिस्टरले शानदार गोल गरे। एकिटिकेले मोहम्मद सलाहको कर्नर बललाई आफ्नो दिशामा मोडिदिएपछि एलिस्टरले गोल गरेका हुन्।
दोस्रो हाफ सुरु भएको ४ मिनेटमै टोमास साउचेकले एल हाजी मलिक डियुफको क्रसलाई स्लाइड गोल फर्काए।
त्यसपछि केही समय लिभरपुल दबाबमा परेको देखिएको थियो। तर ७०औं मिनेटमा एकिटिकेको पास लिएर कोडी गाक्पोले गरेको प्रहार आरोन वान–बिसाकामा लागेर गोलमा परिणत भयो।
पछि भ्यालेन्टिन कास्टेलानोसले जारोड बोवेनको कर्नरमा अनमार्क अवस्थामा हेड गर्दै स्कोर ४–२ बनाए। खेलको अन्त्यतिर क्रिसेन्सियो समरभिलले थप गोलको अवसर सिर्जना गर्न प्रयास गरे पनि सफल हुन सकेनन्।
८२औं मिनेटमा एक्सेल दिसासीले जेरिमी फ्रिम्पोङको क्रस आफ्नै पोस्टमा प्रहार गरेपछि खेल ५- २ को नतिजामा समाप्त भयो।
अन्य खेलमा एभर्टनले न्युक्यासललाई ३-२ ले, बेन्फोर्डले बर्नलीलाई ४-३ ले हरायो। बोर्नमाउथ र सन्डरल्यान्डले १-१ को बराबरी खेलेका छन्।



The post लिभरपुलको जित first appeared on हाम्रो खेलकुद.