Taksar News
सहकारी ठगका नाइके लामिछानेलाई उन्मुक्ति दिने कुरा आपत्तिजनक छः जेन्जी मुभमेन्ट
काठमाडौँ । जेन्जी मुभमेन्ट नेपालले सहकारी ठग रवि लामिछानेसँग सम्बन्धित गिरोहका सदस्यलाई महान्यायाधिवक्ताले उन्मुक्ति दिएको घटनाप्रति आपत्ति जनाएको छ। मुभमेन्टले यस निर्णयलाई सुशासन र कानुनी राज्यको मूल्यमाथि प्रहार भन्दै तत्काल सुधारको माग गरेको छ।
“जेन्जी विद्रोहका क्रममा ७६ नागरिकले जीवन बलिदान दिएका थिए भने ३ हजारभन्दा बढी नागरिक अङ्गभङ्ग भएका थिए। मुभमेन्टले यस ऐतिहासिक बलिदानमाथि खेलवाड हुनु अस्वीकार्य ठानेको छ,” प्रेस वक्तव्यमा भनिएको छ ।
मुभमेन्टका अनुसार सुशीला कार्की नेतृत्वको सरकार र उनले नियुक्त गरेको महान्यायाधिवक्ताद्वारा अपराधीलाई संरक्षण र उन्मुक्ति दिने कार्य लोकतान्त्रिक मूल्यविपरीत रहेको छ।
भाद्र २४ गते रवि लामिछानेको गिरोहले जेल भत्काई कैदी भागाइदिँदा देशभरि अस्तव्यस्तता सिर्जना भएको थियो, जसले राज्य संयन्त्रको दुरुपयोग र अस्थिरता फैलाउने उद्देश्य स्पष्ट देखाएको मुभमेन्टको ठहर छ।
जेन्जी मुभमेन्टले लाखौँ सहकारी पीडितको रगत र पीडा दुरुपयोग गर्ने अपराधीलाई उन्मुक्ति दिने निर्णयलाई न्यायको उपहास भन्दै अस्वीकार गरेको छ। “कानून सबैका लागि समान हुनुपर्छस शक्तिशालीका लागि छुट र पीडितका लागि मौनता स्वीकार्य हुँदैन,”वक्तव्यमा भनिएको छ ।