नगद कारोबारमा तोकियो नयाँ सीमा, पाँच लाख बढीको कारोबार अब बैंकबाट मात्र
काठमाडौं। सरकारले पाँच लाखभन्दा बढीको कारोबार बैंकबाट मात्र गर्ने गरी नयाँ प्रावधान ल्याएको छ। माघ १ गतेबाट लागू हुनेगरी मन्त्रिपरिषद्ले यो निर्णय गरेको भूमिमन्त्री अनिल सिन्हाले बताए।
सोमबार बसेको मन्त्रिपरिषद्ले पाँच लाखभन्दा बढीको खरिदविक्री बैंकबाट मात्र गर्नेगरी नयाँ प्रावधान ल्याएको मन्त्री सिन्हाले बताए। यसअघि १० लाखभन्दा माथिका कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्थ्यो।
एक पटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा माथिको सेवा, बस्तुको खरिदबिक्री वा अन्य कारोबार गर्दा बैंकबाट गर्नुपर्ने गरी नगद कारोबारको सीमा निर्धारण गरिएको उनले बताए।
सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थामा सुधार ल्याउन यो नीति ल्याइएको मन्त्री सिन्हाले बताए।
‘अहिले ग्रे लिस्टको कारण पनि यसलाई थप सुधार गर्न ५ लाखभन्दा बढी रकम बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने नियम ल्याएको हो’, मन्त्री सिन्हाले बताए।
यसैगरी सरकारले सुदूरपश्चिम प्रदेश सरकारका कामु प्रदेश प्रमुख सचिव वैकुण्ठ प्रसाद अर्याललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले प्रेस काउन्सिलको अध्यक्षमा डा. कुमार शर्मा आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ।
यसैगरी सरकारले भदौ २३ गतेलाई जेनजी दिवसका रुपमा मनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए।
The post नगद कारोबारमा तोकियो नयाँ सीमा, पाँच लाख बढीको कारोबार अब बैंकबाट मात्र appeared first on BIZMANDU.