NepalWatch
विदेशको लाख कमाइ छोडेर गाउँमै सस्तो बजार सञ्चालन
कञ्चनपुर – वैदेशिक रोजगारीमा १६ वर्ष बिताएर स्वदेश फर्किएका बेदकोट नगरपालिका–१ सुडाका बसन्तराज भट्टले विदेशमा सिकेका सीप र अनुभवलाई उपयोग गर्दै गाउँमै व्यवसाय सुरु गरेका छन्।
उनले गाउँमै ‘आफ्नो बजार, सस्तोबजार’ नामक किराना तथा दैनिक उपभोग्य सामग्री पसल सञ्चालन गर्न थालेका छन्। कुवेतमा वर्षौंसम्म पसल तथा आपूर्ति व्यवस्थापनसँग सम्बन्धित काम गरेका भट्टले त्यही अनुभवलाई आधार बनाएर गाउँमै गुणस्तरीय सेवा दिने उद्देश्यले व्यवसाय सुरु गरेका छन्।
विदेशबाट फर्केर केही उत्पादनमूलक काम गर्ने लक्ष्य रहेको बताएका भट्टले स्वदेशमै दिगो जीविकाको सम्भावना देखेपछि व्यवसायमा हात हालेका छन्।
भट्टले करिब १० लाख रुपैयाँ लगानी गरी घरैमा आधुनिक शैलीको किराना पसल स्थापना गरेका छन्। स्थानीय ग्राहकलाई दैनिक उपभोग्य सामग्रीदेखि तरकारीसम्म एकै स्थानमा सहजै उपलब्ध गराउने उद्देश्यले उनले पसल सञ्चालन गरेका छन्।
‘कुवेतमा काम गर्दा पसलमा सामान कसरी सजाउने, कसरी मूल्य निर्धारण गर्ने, हिसाब–किताब गर्ने, ग्राहकसँग कसरी व्यवहार गर्ने भन्ने सबै सीप त्यहीँ सिकेँ,’ भट्टले भने, ‘अब त्यही सीप प्रयोग गरी व्यवसाय सुरु गरेको छु।’
भट्टको पसलले छोटो समयमै स्थानीय ग्राहकको ध्यान तान्न सफल भएको छ। ग्राहकअनुकूल मूल्य, गुणस्तरीय सामान र छरितो सेवाले उनको पसल आकर्षक बनेको छ। ‘थोरै नाफा राखेर सामान बेच्ने गर्छु, ग्राहकको मागका आधारमा आवश्यक वस्तु मात्र राख्छु,’ भट्टले भने, ‘गुणस्तर राम्रो भएकाले अहिलेसम्म कुनै गुनासो आएको छैन, उल्टै ग्राहकको विश्वास बढ्दै गएको छ।’
पसलमा तरकारी, फलफूल, ड्राइफ्रुट्स, मसला, चामल, दाल, चिनी, गेडागुडी, तेल, भान्छाका सामग्री, मिठाई तथा दैनिक घरायसी सामान उपलब्ध छन्। एउटै छानामुनि आवश्यक वस्तु पाइने भएकाले स्थानीयहरू भट्टको सस्तोबजारमा आकर्षित भएका छन्।
हाल उनको पसलमा दैनिक १० हजारदेखि १५ हजार रुपैयाँसम्मको बिक्री हुन्छ। यसबाट दुई हजारदेखि तीन हजार रुपैयाँ बराबरको नाफा हुने गरेको उनले बताए।
‘बढी मार्जिन राखेर सामान बेचे नाफा बढी हुन्थ्यो,’ उनले भने, ‘थोरै मार्जिन राखेर ग्राहकलाई गाउँकै बजारबाट सबै सामान उपलब्ध गराउने सामाजिक सेवा भाव राखेर व्यवसायलाई अगाडि बढाउँदै आएको छु।’
विदेशमा उनको कमाइ महिनामा एक लाख रुपैयाँको हाराहारीमा थियो। तर परिवारबाट टाढा रहनुपरेकोले गाउँमै केही गर्ने सोचले पसल सुरु गरेको उनको भनाइ छ।
लामो समय विदेशमा बस्दा परिवारसँग समय बिताउन नपाउँदा खिन्नता भएको भट्टले अहिले आफ्नै पसलमा काम गर्दै परिवारसँग बस्न पाएकोमा खुसी व्यक्त गरे।
पसलमा श्रीमती र परिवारका सदस्यले पनि सहयोग गर्दै आएका छन्। ‘स्वदेशमै बसेर इमान्दारीका साथ व्यापार गर्दा राम्रो कमाइ हुन्छ भन्ने अहिले महसुस भएको छ,’ भट्टले भने, ‘अब बजारलाई विस्तार गर्ने, ग्राहक सेवा सुधार्ने, ग्राहकको अनलाइन अर्डरअनुसार घरमै सामान पुर्याउने र आधुनिक बिलिङ प्रणाली ल्याउने योजनामा छु।’ रासस