निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९५ लाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त भएका ४५४ उजुरीमध्ये ९५ लाई स्पष्टीकरण सोधिएको छ ।
राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकोमा ६२ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । हालसम्म ८९ जनालाई स्पष्टीकरण र छ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले राससलाई जानकारी दिए । पुनः स्पष्टीकरण सोधिएका छ जनामध्ये पाँचवटाको जवाफ प्राप्त भएको छ । आयोगले अहिलेसम्म तीन जनालाई ताकेता पत्र लेखेको छ । ताकेतामध्ये एउटाको जवाफ प्राप्त भएको छ । स्पष्टीकरण सोध्दा पनि चित्तबुझ्दो जवाफ प्राप्त नभएपछि आयोगले आठ जनालाई कारबाही गरेको पनि उनले सुनाए ।
आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको हो । दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरणलगायत कारबाहीका लागि लेखी पठाइएको छ । निर्वाचन विश्लेषणका नाममा मत सर्वेक्षण गरेर दल र उम्मेदवार विशेष निर्वाचित हुँदै भनी समाचार सामग्री प्रकाशन गर्ने सेतोपाटी अनलाइनलाई पनि प्रेस काउन्सिलमार्फत नै स्पष्टीकरण सोधिएको छ ।
जिल्लास्तरमा समेत निर्वाचन आचारसंहिना उल्लङ्घनविरुद्धका उजुरी प्राप्त भई आवश्यक कारबाही भइरहेको छ । निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीको प्रक्रिया अघि बढाइरहेको छ । प्राप्त भएका ६२ वटा जवाफको थप अध्ययन भइरहेको पनि आयोगले जनाएको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयह क्रियाशील रहेको कानुन अधिकृत मोहनराज जोशीले बताए ।
जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक/कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । छोटो समयमै सबै जिल्लामा सरोकारवालाहरूलाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्ने प्रतिबद्धता गराउने कार्य प्रभावकारी रूपमा भइरहेको आयोगले जनाएको छ ।
जिल्लास्तरमा आएका उजुरीका सम्बन्धमा जिल्लाबाटै स्पष्टीकरण सोधी जवाफ माग गरेर दोषी देखिएकालाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको पनि जनाइएको छ ।
जिल्ला, जिल्लामा गरी हालसम्म एक हजार ७६ वटा उजुरी प्राप्त भएकामा एक हजार ६१ वटाको फछ्र्योट गरिएको आयोगले जनाएको छ । राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरे भनी लुम्बिनी प्रदेशका जिल्लामा बढी उजुरी प्राप्त भएको जनाइएको छ ।