तरहरा क्षेत्रमा जोडी मन्डारिन हाँसको विचरण
इटहरी- नेपालमै दुर्लभ मानिने मन्डारिन हाँसको जोडी इटहरी उपमहानगरपालिका-२०, तरहरा क्षेत्रमा देखिएपछि प्रकृतिप्रेमी उत्साहित भएका छन्। रंगीन प्वाँख र विशिष्ट बनावटका कारण विश्वकै सुन्दर हाँसमध्ये एक मानिने मन्डारिन (जलचर) हाँसको उपस्थितिलाई यस क्षेत्रको जलचर तथा वातावरणीय अवस्था अनुकूल बन्दै गएको संकेतका रूपमा लिइएको छ।
चराचुरुंगी विज्ञहरूका अनुसार मन्डारिन हाँस प्रायः शान्त जलाशय, नदी किनार र वन क्षेत्र आसपास बसोबास गर्छन्। तरहरामा जोडीकै रूपमा देखिनु यहाँ अस्थायी बसाइ वा प्रजननका लागि उपयुक्त वातावरण रहेको सम्भावनातर्फ इंगीत गर्छ।
वाइल्डलाइफ फोटोग्राफर निशान शर्माले तरहरा क्षेत्रमा मन्डारिन हाँसको जोडी रेकर्ड गरेका हुन्। शर्माका अनुसार भाले रंगीन र आकर्षक हुन्छ। ढाडमा सुन्तला रंगको पखेटा हुन्छ भने चुच्चो रातो हुन्छ। मिश्रित रंगले आकर्षित देखिने भाले मन्डारिन टाढैबाट पनि सहजै चिनिन्छ।

पोथी मन्डारिन सामान्य र फिक्का रंगको हुन्छ। आँखाको वरिपरि सेतो घेरा, चुच्चो खैरो हुने यो चरा धुम्म–धुम्म देखिन्छ। आकारमा भने भालेपोथी उस्तैउस्तै देखिन्छ।
विश्वको सबैभन्दा सुन्दर जलपक्षीका रूपमा चिनिने मन्डारिन हाँसको पोथी दृश्य तरहरा क्षेत्रमा पहिलोपटक गत ८ मंसिरमा शर्माले रेकर्ड गरेका थिए। पछिल्लोपटक भने हालै तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको पोखरीभित्र जोडी नै रेकर्ड गरिएको हो। खास गरी यो चरा नेपालमा नियमित रूपमा नदेखिने सुन्दर प्रवासी प्रजाति हो।
‘प्राकृतिक मुभमेन्ट र उपयुक्त वासस्थान भएको ठाउँमा बस्न रुचाउँछ,’ शर्मा भन्छन्, ‘कहिलेकाहीँ आएर आराम गर्ने क्रममा बस्दा यो ठाउँ मन पराएर बसेको हुनसक्छ।’
खास गरी रसिया, चीन, कोरिया वा जापानबाट आएको हुनसक्ने उक्त जलपक्षी प्रायजसोः नारायणी र फेवाताल आसपास देख्न सकिन्छ। पूर्व क्षेत्रमा भने उक्त चरा देखिनु जैविक विविधताका लागि सकारात्मक कदम मानिन्छ। त्यससँगै यहाँका पक्षी विशेषज्ञ र प्रकृतिप्रेमीहरूका लागि यस चराले ध्यान आकर्षितसमेत गरेको छ। मानिसको आवातजावत धेरै भयो वा डिस्टर्ब भयो तत्काल जानसक्ने र यसको आनीबानी बुझ्नुपर्ने शर्माले सुझाए।

पूर्वी नेपालमा मन्डारिन हाँसको दृश्य पछिल्लोपटक सन् २०२० मा सुनसरीको बर्जु तालमा एक वयस्क भाले अवलोकन गरिएको थियो। चार वर्षपछि तरहराको यो नयाँ रेकर्डले यस क्षेत्रलाई प्रजातिको सम्भावित प्रवासी मार्ग वा अस्थायी विश्रामस्थलको रूपमा देखाएको छ।
यो चराको रेकर्डले पूर्वी नेपालको जैविक इतिहास, प्रवासी चराहरूको मार्ग र संरक्षणका लागि महत्त्वपूर्ण रेकर्ड रहेको पक्षीविद्, कोशी पक्षी समाजका अध्यक्ष अनिष तिम्सिना बताउँछन्। प्रकृतिप्रेमी र पक्षी संरक्षकहरूका लागि खुसीको खबर मानिएको उनले बताए।
‘हिउँदयाममा कहिलेकाहीँ दक्षिणतिर सर्दै भारत र नेपालका केही भागमा देखापर्ने यो चरा पूर्वी नेपालका लागि पछिल्ला वर्षमा सबैभन्दा महत्त्वपूर्ण रेकर्ड बनेको छ,’ तिम्सिनाले भने।
विशेष गरी यो चराले टाउको पानीमा डुबाएर चर्न खोज्छन्। बलियो उडान गर्ने, राम्रो पौडी खेल्ने हुन्छन् भने मन्डारिन हाँसहरू सामान्यतयाः ताल, पोखरी, नदी र अन्य सिमसार क्षेत्रमा पाइन्छ। यी चराहरू प्रायः एक्लै वा सानो समूहमा बस्ने हुन्छन्।

तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको पोखरी आसपास मात्रै विभिन्न ६५ प्रजातिका चरा देखिएका छन् । यस क्षेत्रमा दुई सय प्रजाति भन्दा धेरै चरा पाइए पनि एकैपटकमा ६५ प्रजातिका चरा रेकर्ड भएको वाइल्डलाइफ फोटोग्राफर शर्माले बताए ।
उनका अनुसार मन्डारिन हाँससहित भुँडीफोर, चखेवा, मलाहा चिल, सिलसिले हाँस, विजुलीगैरी हाँस, काकाकुल, खरलाहाँचे ग्रेट मैना, कमन पोचाड्र्स, लेसर व्हिसलिंग डक्स, ब्ल्याक बाजा, येलो बिटरनजस्ता चराहरू पाइएको छ। जसमध्ये सबैभन्दा धेरै सिलसिले हाँस पाँच सय वटा भन्दा बढी रेकर्ड भएका छन्।
खास गरी जलाशय संरक्षण, अवैध सिकार नियन्त्रण र प्राकृतिक वासस्थान जोगाउन पहल गरेमा दुर्लभ चराको संख्याको संरक्षण गर्न सकिने विज्ञहरू बताउँछन्।
