निर्वाचनमा सेना : तेस्रो घेरामा रहने, मतपेटिका गणनास्थल पुर्याउने
काठमाडौँ । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो सुरक्षा जिम्मेवारीबारे स्पष्ट पारेको छ। सेनाले निर्वाचनका क्रममा तेस्रो घेराको सुरक्षा प्रदान गर्ने र मतदान सम्पन्न भएपछि मतपेटिकालाई सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्याउने आइतबार विज्ञप्तिमार्फत जानकारी दिएको हो।
जङ्गी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा निर्वाचन सुरक्षाका सबै कार्यहरू ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन-२०७४’ र ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना-२०८२’ अनुसार भइरहेको उल्लेख छ। विगतका निर्वाचनहरूमा जस्तै यसपटक पनि मतदान सकिएपछि स्थापित मापदण्ड अनुरूप नै मतपेटिका ढुवानी गरिने सेनाले जनाएको छ।
मतपेटिकालाई मतगणना स्थलसम्म पुर्याउने कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधिहरू र नेपाली सेनासहितको एकीकृत टोली खटिनेछन्। नेपाली सेनाले २०४८ सालको प्रतिनिधिसभा निर्वाचनदेखि नै निर्वाचन सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गराएको छ।
सम्बद्ध सबै निकायहरूसँगको समन्वय र सहकार्यमा एकीकृत सुरक्षा योजनाअनुसार आसन्न निर्वाचनलाई सुरक्षित र भयरहित रूपमा सम्पन्न गराउन आफू पूर्ण प्रतिबद्ध रहेको नेपाली सेनाले स्पष्ट पारेको छ।