npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

नागरिक लगानी कोषको ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

Sahayog Ranjit 19 hours ago

काठमाडौं । नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको प्रस्तावित पाँच प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ।

त्यसैगरी आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको प्रतिवेदनमाथि छलफल भई पारित भएको छ। योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको कोषले जनाएको छ।

सभामा कोष संचालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेले कोषको कार्यक्रममा नसमेटिएका स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका सर्वसाधारणहरूलाई समेट्ने गरि नागरिक पेन्सन योजनालाई प्रवर्धन गर्दै लैजाने योजना रहेको बताएका थिए।आगामी दिनमा कोषले बचत संकलनको दायरा विस्तार गर्दे जानेमा पनि उनले जोड दिए।

कोषले नेपाल सरकारका प्राथमिकतामा रहेका परियोजनामा लगानी बढाउने, सहभागीहरूलाई प्रदान गर्दै आएको सहभागी कर्जालाई विस्तार गर्ने, सेयर धितो कर्जा प्रदान गर्ने, जोखिम विश्लेषण गरी उपयुक्त पूर्वाधार सम्बन्धी परियोजनामा लगानी बढाउँदै लैजाने उनले बताए।

साधारणसभामा सेयरधनीहरुबाट उठाइएका जिज्ञासाहरुको बारेमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले जवाफ दिएका थिए। उनले कोषको वस्तुस्थिति बारे बताउँदै सेयरधनीहरूबाट उठाइएका जिज्ञासा तथा सुझावहरूलाई आगामी दिनमा पूरा गर्दे लाने प्रतिबद्धता व्यक्त गरेका थिए।

उनले कोषले गत वर्षदेखि नागरिक लगानी कोष ऐनले निर्दिष्ट गरेको समयावधि भित्रै साधारणसभा गर्न सफल भएको बताएका थिए। अबको युग डिजिटल युग भएकाले कोषले पनि सोही अनुसार कार्य गरिरहेको समेत उनले बताए। हाल अधिक तरलताको कारण कोषको मौज्दात रकमलाई पूर्ण रुपमा परिचालन गर्न चुनौतीपूर्ण रहेको उनले जानकारी दिए।

कोषले लगानी विविधीकरणका लागि विभिन्न नीतिगत व्यवस्था गरेको, नागरिक लगानी कोष ऐन संशोधनको प्रक्रियामा लगेको, विभिन्न जलविद्युत आयोजनामा लगानीका लागि कार्य अघि बढाएको एवम् उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्न आवश्यक गृहकार्य भइरहेको उनले बताए।

साधारणसभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ९६ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। संचालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट नारायणप्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका छन्।

The post नागरिक लगानी कोषको ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category