npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

सुरक्षण मुद्रण केन्द्रः दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

पालिका ब्यूरो 6 days ago

काठमाडौँ — पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा पछिल्ला दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छापिएका छन् । यातायात व्यवस्था विभागका अनुसार गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ सुरु भएयता आठ हजार ९८३ थान लाइसेन्स छपाइ गरिएको हो ।

यसअघि ‘जेनजी आन्दोलन’का क्रममा विभागको मास प्रिन्टर तोडफोड भएपछि रोकिएको लाइसेन्स छपाइ सुरक्षण मुद्रण केन्द्रबाट पुनः सुरु गरिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत कात्तिक २१ गते केन्द्रमा रहेको प्रिन्टिङ प्रेसको बटन थिचेर औपचारिक रूपमा लाइसेन्स छपाइको शुभारम्भ गरेका थिए । केन्द्र र विभागबीच लाइसेन्स छपाइका लागि गत कात्तिक १२ गते सम्झौता भएको थियो, जसअनुसार केन्द्रले छ महिनाभित्र १२ लाख थान लाइसेन्स विभागलाई उपलब्ध गराउनुपर्नेछ ।

यातायात व्यवस्था विभागका आइटी निर्देशक केशव खतिवडाका अनुसार हालसम्म छापिएका करिब नौ हजार लाइसेन्समध्ये सात हजार लाइसेन्स वितरण भइसकेका छन्। उहाँले हाल अत्यावश्यक लाइसेन्समात्र छपाइ गरिएको जानकारी दिए । “नयाँ ट्रायल पास भएका र नवीकरणका लागि आवेदन दिएका गरी झण्डै ३० लाख लाइसेन्स छपाइ हुन बाँकी छन्,” खतिवडाले भने ।

विभागले अब साधारण लाइसेन्स छपाइ प्रक्रिया तीव्र बनाउने तयारी गरेको छ । एकैपटक एक लाख ‘डाटा’ केन्द्रमा पठाउने तयारी भइरहेको विभागले जनाएको छ । केन्द्रले विभागसँगको सम्झौताअनुसार बाँकी ११ लाख ९१ हजार स्मार्ट लाइसेन्स आगामी दुई महिनाभित्र छापिसक्ने लक्ष्य लिएको छ ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले सुरुआती चरण परीक्षणकाल भएकाले हालसम्म छपाइ सुस्त देखिएको बताए । “अब नयाँ जनशक्ति थपिँदैछ, माघ महिनादेखि दैनिक १० हजारको दरले स्मार्ट लाइसेन्स छपाइ गर्ने आन्तरिक तयारी छ,” उनले भने, ।

सुरुआती दुई हप्तामा केन्द्रमा पहिलोपटक छापिएका ५२० थान लाइसेन्स विभागलाई हस्तान्तरण गरिएको थियो । नेपालकै प्रयोगशालामा गरिएको परीक्षण सफल भएपछि लाइसेन्स बुझाइएको केन्द्रले जनाएको छ । विभागसँगको सम्झौताअनुसार सुरुका तीन महिनामा एक लाखका दरले तीन लाख र बाँकी तीन महिनामा नौ लाख गरी कुल १२ लाख लाइसेन्स छपाइ गरिनेछ ।

केन्द्रमा छापिने स्मार्ट लाइसेन्समा चिप्सको सट्टा क्यूआर कोड प्रयोग गरिएको छ । केन्द्रका अनुसार नयाँ कार्डमा छ तहसम्मका उच्चस्तरीय सुरक्षा प्रविधि प्रयोग गरिनेछ । कार्डमा ३४ प्रकारका सुरक्षा विशेषता रहनेछन्, जसमा केही दृश्य र केही अदृश्य हुनेछन् ।

सुरक्षण मुद्रण केन्द्रले सवारी लाइसेन्सबाहेक हुलाक टिकट, नागरिकता, अन्तःशुल्क स्टिकर, लालपुर्जा र भिसा स्टिकर छपाइको तयारी पनि गरिरहेको छ । केन्द्रमा जडित दुई उच्च सुरक्षित डिजिटल मेसिनबाट वार्षिक ६० करोड अन्तःशुल्क स्टिकर छाप्न सकिने क्षमता रहेको छ । प्रेस पूर्ण रूपमा सञ्चालनमा आएपछि सुरक्षण मुद्रणका नाममा विदेश जाने वार्षिक करिब १० अर्ब रुपैयाँ जोगिने अपेक्षा गरिएको छ ।

सरकारले विसं २०८० मा सुरक्षण मुद्रण क्षेत्रलाई तीन चरणमा विकास गर्ने कार्यमूलक तथा नतिजामूलक गुरुयोजना तयार गरेको थियो । सो योजनाअनुसार पहिलो चरणमा पाँच वर्षभित्र नेपाललाई आत्मनिर्भर बनाउने, दोस्रो चरणमा आगामी दश वर्षभित्र सार्क र दक्षिणपूर्वी एसियाली मुलुकलाई सेवा उपलब्ध गराउने तथा तेस्रो चरणमा १५ वर्षभित्र अन्य तेस्रो मुलुकसम्म सेवा विस्तार गर्ने लक्ष्य तय गरिएको छ ।

सूचना–प्रविधि पार्क (आईटी पार्क)का लागि निर्माण गरिएका भौतिक पूर्वाधार प्रयोगविहीन भएपछि पाँच वर्षअघि सोही पार्कलाई सुरक्षण मुद्रण केन्द्रमा रूपान्तरण गरिएको हो। २५७ रोपनी क्षेत्रफलमा फैलिएको केन्द्र परिसरभित्र व्यापारिक तथा प्रशासनिक भवन, आवासीय भवन र गोदामघरसमेत रहेका छन् ।

Read more news from PalikaNews

Explore by Source or Category