एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा
बागलुङ। बागलुङका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको(एचपिभी) खोप लगाएका छन्।
अघिल्लो वर्षबाट दिन थालिएको उक्त खोप यस वर्ष कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिरका किशोरीले खोप लगाएका हुन् ।
यस वर्ष जिल्लाभर दुई हजार ३१३ जना किशोरीलाई एचपिभी खोप दिने लक्ष्य रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए । उनका अनुसार बागलुङ नगरपालिकाका ५५६, गलकोटका २६८, जैमिनीका १५८, ढोरपाटन नगरपालिकाका ४१९ जना किशोरीले खोप लगाएका छन् ।
त्यस्तै काठेखोला गाउँपालिकाका १३५, तमानखोलाका १०१, ताराखोलाका ५५, निसीखोलाका २३५, बडिगाडका ३०९ र बरेङ गाउँपालिकाका ७३ जना किशोरीले एचपिभी खोप लगाएका घिमिरेले बताए ।
विद्यालय जाने दुई हजार २७१ र विद्यालय नजाने १४ र छुटेका १७ जना किशोरीले यसपटक खोप लगाएको उनको भनाइ छ । गत वर्ष ११ हजार १७७ किशोरीले एचपिभी खोप लगाएका थिए।
तोकिएको उमेर समूहका किशोरीलाई खोप लगाउनबाट नछुटाउनका लागि फागुनभित्र विद्यालय र घरघरसम्म पुग्न स्वास्थ्यकर्मी खटाइएको उनले बताए।