गृहमन्त्री अर्यालले गरे मतदान केन्द्रको निरीक्षण, ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह
काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रको निरीक्षण गरेका छन्।
मन्त्री अर्यालले मंगलबार ललितपुरको बुङ्मती, लेले, नल्लु र ठेचोका विभिन्न मतदान केन्द्रको निरीक्षण गरेका हुन्।गृहसचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेलगायत पनि निरीक्षण टोलीमा सामेल थिए।
मन्त्री अर्यालले शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएकाले निर्वाचनमा निर्धक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरे। ‘स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ, त्यसैले मतदातालाई ढुक्क भएर आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गर्दछु,’ उनले भने।
उनले मतदानस्थल र मतपेटिका सुरक्षित गर्न मतदान अधिकृत र सुरक्षाकर्मीलाई आग्रह गरे। उनले निर्वाचनमा कुनै किसिमको गैरकानुनी क्रियाकलाप भए वा गराइए दोषीलाई कडा कारबाही गरिने बताए।
गृहमन्त्री अर्यालले आइतबार गृहसचिव श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायतसहित नेपालगञ्ज अछाम, बझाङ, बाजुरा र धनगढी पुगेर निर्वाचन सुरक्षाको अवस्थाबारे बुझेका थिए।
The post गृहमन्त्री अर्यालले गरे मतदान केन्द्रको निरीक्षण, ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह appeared first on BIZMANDU.