खाडी मुलुक जाने श्रमिकको श्रम स्वीकृति स्थगित
काठमाडौँ । मध्यपूर्वमा बढ्दै गएको सैन्य तनाव र असुरक्षाका कारण नेपाल सरकारले खाडी मुलुक जाने नेपाली कामदारका लागि दिइने श्रम स्वीकृति तत्कालका लागि स्थगित गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले पछिल्लो विषम परिस्थितिका कारण जोखिम बढेकाले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि श्रम स्वीकृति रोकिएको जानकारी दिए।
परराष्ट्र मन्त्रालयले आइतबार आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा मध्यपूर्वको वर्तमान अवस्था र त्यहाँ रहेका नेपालीहरूको सुरक्षाबारे विस्तृत जानकारी दिइएको छ। मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काका अनुसार हाल मध्यपूर्वका विभिन्न देशमा गरी करिब १७ लाख २९ हजार २ सय ८८ जना नेपाली नागरिकहरू रहेका छन्।
मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले नेपाली नागरिकहरूलाई सुरक्षित रहन र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन ‘ट्राभल एड्भाइजरी’ जारी गरिसकिएको बताए। नेपाली दूतावासहरू र नियोग प्रमुखहरूसँग निरन्तर समन्वय गर्न चौबीसै घण्टा अपडेट लिने संयन्त्र तयार पारिएको मन्त्रालयले जनाएको छ।
पत्रकार सम्मेलनमा सहसचिव कृष्णप्रसाद ढकालले नेपाली नागरिकहरूको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको र आपतकालीन उद्धारका लागि आवश्यक तयारी गरिसकिएको जानकारी दिए। उनले सामाजिक सञ्जालमा फैलिने भ्रामक र अपुष्ट सूचनाको पछि नलाग्न र आधिकारिक जानकारीका लागि दूतावास वा मन्त्रालयको सूचनामा मात्र विश्वास गर्न आग्रह गरे।
सरकारले हालका लागि मध्यपूर्वी देशहरूको भ्रमण नगर्न समेत नेपाली नागरिकहरूलाई आह्वान गरेको छ।