Taksar News
मिश्रित निर्वाचन प्रणाली रहेसम्म खर्च कम गर्न सकिन्नः केशव झा
काठमाडाैँ । जनता समाजवादी पार्टी,नेपालका नेता केशव झाले मिश्रित निर्वाचन प्रणाली रहेसम्म निर्वाचन खर्च कम गर्न नसकिने बताएका छन् ।
शुक्रबार निर्वाचन आचारसंहिता सम्बन्धि निर्वाचन आयोगले आयोजना गरेको छलफलमा उनले प्रनिनिधिसभा निर्वाचन जित्नको लागी उम्मेद्वारले १५ करोड रुपैयाँसम्म खर्च गर्ने गरेको बताए ।
उनले प्रत्येक निर्वाचनमा खर्चको सिमा बढिरहेको उल्लेख गरे । आयोगले यसपटक निर्वाचन क्षेत्रको आधारमा २९ लाखदेखि ३३ लाख रुपैयाँ सम्मको खर्चसिमा तोकिएको भएपनि यसलाई लागू गर्न नसकिने बताए ।
उनले भने, “निर्वाचन आचारसंहिता बनाउँदाखेरि कठिन हुने खालको बनाउनु हुँदैन । केही कुरा त एकदमै कठिन हुने खालको नै छ । एकातिर हामीले यो निर्वाचन खर्च कसरी घटाउने भन्छौँ । यद्यपि मेरो यसमा प्रष्ट मान्यता त के छ भने मिश्रित निर्वाचन प्रणाली हुन्जेलसम्म हामीले जति कोशिष गरेपनि यो निर्वाचन खर्च घटाउन सकिदैन । यो बढेको बढ्यै हुन्छ । यसपाली पनि २९ लाखदेखि ३३ लाखसम्मको निर्वाचन क्षेत्रानुसारको खर्च सीमा तोकिएको छ । यहाँहरुले कसरी यो हेर्नुहुन्छ, थाहा छैन । तर जित्ने ठाउँमा त ५/१० करोड खर्च हुन्छ, जित्नेले त्यो खर्च गर्छन । हरेक निर्वाचनमा प्रतिनिधिसभा जित्नको लागी १५ करोडसम्म खर्च भईरहेको छ ।”
उनले निर्वाचन आचारसंहिता बनाउँदा कार्यन्वयन हुने खालको बनाउनुपर्नेमा जोड दिए । उनले कठिन आचारसंहीता बनाउँदा कार्यान्वयन गर्न नसकिएकोतर्फ ध्यानाकर्षण गराए ।