PalikaNews
ज्येष्ठ नागरिकलाई घरदैलोमै भत्ता र न्यानो कपडा वितरण
खोटाङ – रामप्रसाद राई गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण गर्नुका साथै न्यानो कपडा उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरेको छ ।
गाउँपालिका केन्द्रस्थित बैंकसम्म पुग्न ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई कठिनाइ भएपछि वडास्तरमै सेवा प्रवाह सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
घुम्ती शिविरमार्फत ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण, ७० वर्षमाथिका नागरिकलाई न्यानो कपडा वितरण तथा निःशुल्क स्वास्थ्य परीक्षणसमेत भइरहेको गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले जानकारी दिए । भौगोलिक विकटताका कारण सेवा लिन गाउँपालिका केन्द्रसम्म आउन कठिन भएकाले घरपायकमै सेवा उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरिएको उनले बताए ।
“नागरिकको सहजतालाई प्राथमिकतामा राख्दै हामीले घुम्ती शिविरमार्फत सेवा प्रदान गर्दै आएका छौँ,” अध्यक्ष राईले भने, “भौगोलिक विकटताका कारण सेवा लिन समस्या भइरहेकाले स्थानीय सरकारको सेवा जनताको घरदैलोसम्म पु¥याउने लक्ष्यका साथ यो अभियान सञ्चालन भइरहेको छ।”
ज्येष्ठ नागरिकप्रति स्थानीय सरकारको दायित्वलाई आत्मसात् गर्दै गाउँपालिकाले ‘ज्येष्ठ नागरिकप्रति दायित्व कार्यक्रम’ अन्तर्गत ७० वर्षमाथिका नागरिकलाई न्यानो कपडा वितरण गर्दै आएको जनाएको छ । जाडो मौसममा न्यानो कपडा पाएपछि आफूहरूलाई राहत मिलेको ज्येष्ठ नागरिकले बताएका छन् ।
स्थानीय बासिन्दाका अनुसार घरदैलोमै भत्ता, स्वास्थ्य सेवा र न्यानो कपडा वितरण हुँदा सेवा लिन टाढा धाउनु नपर्ने भएकाले कार्यक्रम प्रभावकारी बनेको छ । गाउँपालिकाले आगामी दिनमा पनि यस्ता घुम्ती शिविरलाई निरन्तरता दिने जनाएको छ ।