नेपालको निर्वाचन २००४ देखि २०८२ सम्म
काठमाडौं। नेपालको लोकतन्त्रको इतिहास मतदान र निर्वाचनसँगै जोडिएको छ। देशमा पहिलो निर्वाचन वि.सं. २००४ साल जेठ ३ मा काठमाडौँ म्युनिसिपालिटीमा सम्पन्न भयो। प्रारम्भमा मतदान सीमित थियो, पुरुष मतदाताले मात्र मतदान गरे र महिलाले मताधिकार पाएका थिएनन्।
सन् पछि वि.सं. २०१० साल भदौ १७ मा काठमाडौँ नगरपालिकामा निर्वाचन भएको थियो, जहाँ महिलाले पहिलो पटक समान र व्यवस्थित रूपमा मतदान गरेका थिए। यस निर्वाचनले नेपाली महिलाको राजनीतिक अधिकारको ऐतिहासिक सुरुवात गर्यो।
नेपाली कांग्रेसले बहुमत ल्याएको पहिलो बालिग मताधिकार आधारित आम निर्वाचन प्रतिनिधिसभा र महासभाका लागि वि.सं. २०१५ फागुन ७ मा सम्पन्न भयो। यस निर्वाचनले देशमा लोकतान्त्रिक अभ्यासको नयाँ अध्याय सुरु गर्यो। तर २०१७ पुस १ मा राजा महेन्द्रले संसद् विघटन गरी पञ्चायती व्यवस्था लागू गरे।
पञ्चायती व्यवस्थामा वि.सं. २०१७ देखि २०४६ सालसम्म दलविहीन निर्वाचन चले। यस अवधिमा वि.सं. २०३७ जेठ १० मा ऐतिहासिक जनमत संग्रह भएको थियो, जसमा पञ्चायत पक्ष विजयी भयो। त्यसपछि वि.सं. २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायतका निर्वाचन सम्पन्न भए।
२०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनःस्थापित भयो। यसको पहिलो आम निर्वाचन वि.सं. २०४८ वैशाख ३० मा सम्पन्न भयो। यसपछि वि.सं. २०५१ कात्तिक २९ मा मध्यावधि निर्वाचन, र वि.सं. २०५६ साल वैशाख २० र जेठ ३ मा तेस्रो आम निर्वाचन सम्पन्न भयो।
राजतन्त्रको अन्त्यपछि गणतन्त्रतर्फ लाग्ने प्रक्रिया शुरू भयो। पहिलो संविधान सभा निर्वाचन वि.सं. २०६४ चैत २८ मा सम्पन्न भयो, जसमा नेकपा (माओवादी) सबैभन्दा ठूलो दल बनेको थियो। संविधान निर्माणमा पहिलो प्रयास असफल भएपछि दोस्रो संविधानसभा निर्वाचन वि.सं. २०७० मंसिर ४ मा सम्पन्न भयो। यसले संविधान जारी गर्ने मार्ग खोल्यो र २०७२ असोज ३ मा नयाँ संविधान लागू भयो।
संविधान जारी भएपछि संघीय संरचना लागू भयो। पहिलो संघीय संसद्, प्रदेशसभा र स्थानीय तहको निर्वाचन वि.सं. २०७४ मंसिरमा सम्पन्न भयो। यसपछि दोस्रो स्थानीय तहको निर्वाचन वि.सं. २०७९ वैशाख ३० मा सम्पन्न भयो। त्यही वर्ष, वि.सं. २०७९ मंसिर ४ मा दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भए, जसले संघीय लोकतन्त्रलाई मजबुत बनायो।
अहिले, २१ फागुन २०८२ को प्रतिनिधिसभा निर्वाचन नेपालको लोकतान्त्रिक इतिहासमा अर्को महत्वपूर्ण अध्याय बन्ने अपेक्षा गरिएको छ। यस निर्वाचनले मतदाता, राजनीतिक दल, प्रशासन र सुरक्षा निकाय सबैको सक्रिय सहभागितामा निर्भर गर्दै लोकतन्त्रको अभ्यासलाई सुदृढ बनाउनेछ ।
निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनु भनेको केवल मतदानको सफलता मात्र होइन, लोकतन्त्रको स्थायित्व कायम गर्नु हो। मतदाता जागरुक रहनुहोस्, मतदानमा भाग लिनुहोस्। उम्मेदवार तथा दलले प्रतिस्पर्धा निष्पक्ष राख्नुपर्छ।