npl.977 Nepal News Stream

Sutra News logo Sutra News

प्रतिनिधि बन्न नपाएपछि चन्दले त्यागे एमाले, के भने ?

सुत्र न्युज 14 hours ago

 

काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले नेकपा एमाले पार्टी परित्याग गरेका छन्। लामो समयदेखि पार्टीभित्र जारी गुटगत विवाद, पदलोलुपता, झोले संस्कृतिको बढ्दो प्रभाव र नेतृत्वबाट पाएको असहयोगप्रति असन्तुष्टि जनाउँदै उनले आइतबार सामाजिक सञ्जालमार्फत पार्टीबाट अलगिएको घोषणा गरे।

चन्दले फेसबुकमा पोस्ट गर्दै आजदेखि जिल्ला पार्टीको जिम्मेवारी लिलाधर भट्ट, गाउँपालिकाको जिम्मा उपाध्यक्ष बिना भट्ट र वडाध्यक्ष रामसिंह पुजारीलाई हस्तान्तरण गरेको जानकारी गराएका छन्।

चन्दले आफू २०४७ सालमा स्वर्गीय उत्तमबहादुर चन्दको प्रेरणाबाट कम्युनिस्ट आन्दोलनमा प्रवेश गरेको उल्लेख गरेका छन्। त्यही वर्ष टुदिकेलमा तत्कालीन एमाले महासचिव मदन भण्डारीको भाषणले आफू निकै प्रभावित भएको र त्यसपछि बैतडीमा एमालेको संस्थापक सदस्यका रूपमा रहन पाएको उनले लेखेका छन्।

शिक्षण पेशामा दशकौँ बिताएका चन्द १० वर्ष कुलाउ माध्यमिक विद्यालयका प्राचार्य र ५ वर्ष क्याम्पस प्रमुख रहेका थिए। २०७४ मा दामोदर भण्डारी र लिलाधर भट्टले गाउँमा गएर आफ्नो जागिर छोडेर चुनाव लड्न आग्रह गरेपछि आफू पूर्णकालीन राजनीतिमा गएको उनले लेखेका छन्।

लगतै २०७४ र २०७९ दुवै स्थानीय तहको चुनावमा पञ्चेश्वर गाउँपालिकाका अध्यक्षमा उनी बहुमतसहित दुई कार्यकाल निर्वाचित भए।

हालै भएको महाधिवेशन प्रतिनिधि चयनतर्फ आफूलाई योजनाबद्ध रूपमा बाहिर राखिएको चन्दको आरोप छ।

उनका अनुसार, जिल्ला इन्चार्ज लिलाधर भट्ट, पूर्वमन्त्री दामोदर भण्डारी, उपाध्यक्ष बिना भट्ट, राप्रपाबाट आएका वडाध्यक्ष रामसिंह पुजारीलगायतले उनीविरुद्ध लामो समयदेखि ‘जालझेल’ र ‘दबाब’ सिर्जना गरिरहेको दाबी गरेका छन्।

चन्दले पार्टीभित्र चरम गुटबन्दी, चाकरी र झोले प्रथाले काम गर्ने वातावरण नै बिग्रिएको उल्लेख गर्दै लेखेका छन्, ‘निरंकुश नेतृत्वविरुद्ध बारम्बार आवाज उठाएँ, तर सकेन। पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर भयो, झोलेहरूको बहुमत हाबी भयो, तल्लो स्वराडलाई सधैं दोस्रो दर्जामा राखियो।’

Read more news from Sutra News

Explore by Source or Category