एमाले महाधिवेशन प्रतिनिधिमा सांसद, मन्त्रीदेखि मुख्यमन्त्रीका स्वकीय सचिवसम्म पराजित
काठमाडौं । नेकपा एमालेको आसन्न ११औं महाधिवेशन प्रतिनिधिको निर्वाचनमा मन्त्री, सांसद, मेयर जिल्ला अध्यक्ष लगायत चर्चित अनुहारहरु पनि पराजित हुन पुगेका छन् ।
मंसिर २७ गतेदेखि २९ गतेसम्म हुने महाधिवेशनका लागि प्रतिनिधि छनोट गरेर मंसिर १५ गतेभित्र त्यसको जानकारी माथिल्लो कमिटीमा पठाइ सक्नुपर्ने सर्कुलर अनुरुप १३ गतेसम्म अन्तिम रुप दिन देशभरीका कमिटीहरुको बैठक बसी सर्वसम्मत र निर्वाचनमार्फत प्रतिनिधि छनोट गरेको छ भने केही ठाउँमा विवादका कारण स्थगित हुन पुगेको छ ।
१६५ वटा निर्वाचन क्षेत्र, २३ वटा जनसंगठन, ३३ वटा विभाग, ११ वटा प्रदेश कमिटी, ७ वटा प्रदेश, सम्पर्क समन्वय कमिटी, उपत्यका विशेषसहित ९ कमिटी, भारत प्रवाससहित १० अन्तराष्ट्रिय कमिटीबाट २१ सय देखि २२ सय प्रतिनिधि भएर उपत्यकामा हुने महाधिवेशनमा सहभागी हुनेछन् । महाधिवेशन नजिकिँदा संस्थापन पक्ष र संस्थापनइतर पक्षबीचको ध्रुवीकरण तल्लो तहसम्मै प्रष्ट देखिएको छ ।
त्यसकै परिणामस्वरुप पनि भन्नुपर्छ, महाधिवेशनमा सहभागी हुनेहरु महाधिवेशन प्रतिनिधिको निर्वाचनमा मन्त्री, सांसद, मेयर, जिल्ला अध्यक्षसम्म पराजय ब्यहोरेका छन । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा काठमाडौैं क्षेत्र नम्बर ४ मा शनिबार भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा पराजीत भएका छन् । उनी बु्ढानीलकण्ठ नगरपालिकाका पूर्वमेयर उद्धव खरेलसँग ११ मतले पराजित भएका हुन् । खरेलले २ सय १२ मत पाउँदा मन्त्री थापाले २०१ मत मात्रै पाए ।
यसैगरी सुनसरीमा प्रदेश सभाका दुई सांसद नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । कोशी प्रदेश सांसद रहेका रमेशकुमार बस्नेत र विजयकुमार राई पराजित भएका हुन् । उनीहरु एमाले अध्यक्ष केपी ओली पक्षबाट उम्मेदवार थिए । प्रदेश सांसद बस्नेतले ३७६ र राईले ३९१ मत पाएका छन् । खुल्लातर्फ आसाराम चौधरी, जयकुमार राई र मुरारी सुवेदी निवार्चित भएका छन् ।
रुकुमपश्चिमा महाधिवेशन प्रतिनिधिमा कर्णाली प्रदेशसभा सदस्य तुलसा मल्ल पराजित भएकी छन् । उनी एमालेबाट समानुपातिक सांसद हुन् । शनिबार सम्पन्न निर्वाचनमा महिलामा प्रतिनिधि रहेकी मल्ल कौशिला केसी र हिमकुमारी केसीसँग पराजित भएकी थिइन् । कौशिलाले २०४ र हिमकुमारीले २०३ मत प्राप्त गर्दा मल्लले एक सय ११ मत प्राप्त गरेकी थिइन् ।
यता एमाले मकवानपुरका जिल्लाका अध्यक्ष श्रीधर पोखरेल पनि पराजित भएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा उनी पराजित भएका हुन् । स्वास्थ्य उपचारका क्रममा काठमाडौंस्थित वीर अस्पतालमा रहेका अध्यक्ष पोखरेलले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए । महाधिवेशन प्रतिनिधि छनोटका लागि अर्घाखाँचीमा भएको निर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे पराजित भएका छन् । अर्घाखाँचीमा शनिवार भएको निर्वाचनमा कुल ३ हजार ६५० मतमध्ये पुरुष खुल्लातर्फ पिताम्बर भुसाल ३ हजार १८७ मतसहित विजयी हुँदा घिमिरे १ हजार ९८० मत अन्तरले पराजित भएका अहुन् ।
यस्तै झापा क्षेत्र नम्बर ५ मा सोही क्षेत्रका निर्वाचित भएका प्रदेश सभा सदस्य राधाकृष्ण खनाल पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उनीसंगै प्रदेश सभाका पूर्वसांसद हिराकुमार थापा पनि पराजित भएका छन् । खनालले ६९६ मत पाउँदा थापाले ६६६ मत पाए भने उनीहरुलाई पराजित गर्ने रविन्द्र लम्सालले दोब्बर बढी मत पाएका छन् ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकलाकुमारी राना पनि पराजित भएकी छन् । उनी कैलाली–५ निर्वाचन क्षेत्रमा महिला निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेकी थिइन्। तर चुनाव जित्न सकिनन्। त्यस क्षेत्रबाट अम्बिका विष्ट र रुकमणि देवकोटा प्रतिनिधि चुनिएका थिए।
बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले एमाले परित्याग गरेको घोषणा गरेका छन्। आसन्न ११ औँ महाधिवेशनमा प्रतिनिधिमा असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै पार्टी छोडेको घोषणा गरेका हुन्।
यस्तै, शनिवार भएको प्रतिनिधि छनोटमा कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले नेता हिक्मत कार्कीका दुई स्वकीय सचिव नै पराजित भएका छन् । मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनाल सुनसरी क्षेत्र नम्बर १ बाट र झापा क्षेत्र नम्बर ५ बाट प्रमुख स्वकिय सचिव कमल पौडेललाई पराजित गर्दै पत्रकारसमेत रहेका युवराज पौडेल विजयी भएका हुन् । खनाल र पौडेल दुवै जना युवा कोटामा उम्मेदवार बनेका थिए ।