सिड्नीमा अर्को साता गोर्खा कप भलिबल
काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता तेस्रो अजी फाइनान्स गोर्खा कप पुरुष भलिबल प्रतियोगिता २०२६ आयोजना हुने भएको छ ।
आयोजक दि गोर्खा स्पोट्र्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको जानकारी गराएको छ ।
एक दिने प्रतियोगिता २५ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा ११ टोलीको सहभागिता रहने र यही आइतबार टाइसिट सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
यसपाली आयोजक गोर्खासँगै मोना अस्ट्रेलिया, पर्वत बेनी, मंगला भलिबल क्लब, गल्कोट समाज अस्ट्रेलिया, पोखरा भलिबल क्लब, ढोरपाटन क्लब अस्ट्रेलिया, छन्त्याल परिवार अस्ट्रेलिया, जलजला परिवार अस्ट्रेलिया र म्याग्दी काली युनाइटेडको दुई टिम गरी ११ टोलीले नकआउटका आधारमा खेल्नेछन् ।
नेपाली समुदायबीच अस्ट्रेलियामा हुने भलिबल प्रतियोगिताहरुमा एक टोलीमा नेपालको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका एक जना मात्र खेल्न पाउने प्रावधान छ ।
यसपटक सिड्नीमा रहेका नेपाली दर्शक तथा समर्थकले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान मान बहादुर श्रेष्ठ, टेकराज अवस्थी, बिशाल बहादुर बिके,रविन चन्द ठकुरी, हेमन्त बहादुर मल्ल, राजेन्द्र विष्ट, दिल बहादुर सुनार, लोकेन्द्रराज गिरी, सम्राट भण्डारी, धनपति कुँवर, रमेश बिक, विजय थापाको खेल हेर्न पाउनेछन्।
प्रतियोगिताको विजेताले ४ हजार ५० अष्ट्रेलियन डलरसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २ हजार ५० अष्ट्रेलियन डलरसँगै कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
सर्वोत्कृष्ट खेलाडीलाई १ सय अष्ट्रेलियन डलर, सेटर, स्पाइकर, डिफेन्डर, ब्लकर, प्रशिक्षकसँगै उदियामान खेलाडी र अनुशाषित खेलाडीलाई ५० अष्ट्रेलियन डलरसँगै ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
पहिलो संस्करणमा आयोजक गोर्खाले उपाधि जित्दा दोस्रो वर्ष मोनाले उपाधि जितेको थियो ।
यस प्रतियोगितालाई अजी फाइनान्स एण्ड होम लोनले मुख्य प्रायोजन गरेको छ । प्लाटिनम प्रायोजकमा फिस एट दि रक्स, एएलडी कर्पोरेट र एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस रहेका छन् । गोल्ड प्रायोजकमा ग्लोबल कन्सल्ट र एमटी इको रहेका छन् ।
सहयोगीमा डिलाइटेड टुर्स एण्ड ट्राभल्स, नमस्ते रेस्टुरेन्ट, नमस्ते ज्वेलर्स, एभरेस्ट ड्राइभिङ सेन्टर, हिमा एजुकेशन एण्ड भिजा सर्भिसेस, फ्लेभर्स अफ नेपाल लालटिन नेप्लिज क्युजिन, एड्भोकेट कि कन्भिन्सिङ र एलयोन एजुकेशन कन्सल्टेन्सी रहेका छन् । फुड एण्ड ड्रिङ्क पार्टनरमा मिरा क्याटरिङ सर्भिस रहेका छन् ।
प्रतियोगितालाई एनआरएनए अस्ट्रेलिया, नेपाल भलिबल संघ अस्ट्रेलियाले प्राविधिक सहयोग गर्दा हाम्रो खेलकुद मिडिया पार्टनरको रुपमा रहेको छ ।
The post सिड्नीमा अर्को साता गोर्खा कप भलिबल first appeared on हाम्रो खेलकुद.