इरानमाथिको आक्रमण हप्तौँसम्म जारी रहन सक्छ: ट्रम्प
वासिङ्टन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको सैन्य अभियानको बचाउ गर्दै यो आक्रमण अझै ४ देखि ५ हप्तासम्म जारी रहन सक्ने बताएका छन्।
ह्वाइट हाउसमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकामाथि आइपर्न सक्ने गम्भीर खतरालाई निमिट्यान्न पार्न इरानमाथिको आक्रमण आवश्यक रहेको दाबी गरे।
ओमानको मध्यस्थतामा भएका तीन चरणका आणविक वार्ताहरू विफल भएपछि अमेरिका र इजरायलले शनिबारदेखि इरानमाथि भीषण बमबारी सुरु गरेका थिए।
ट्रम्पले तेहरानको शासनलाई ‘बिरामी र पापी’ को संज्ञा दिँदै यो आक्रमण इरानलाई तह लगाउने अन्तिम र उत्तम अवसर भएको बताए। उनले आवश्यक परेमा अमेरिकाले अझै लामो समयसम्म बमबारी जारी राख्न सक्ने क्षमता राख्ने समेत उल्लेख गरे।
राष्ट्रपति ट्रम्पले इरानसँग छिट्टै अमेरिकी मुख्य भूमिसम्म पुग्न सक्ने मिसाइलहरू हुने दाबी गरे पनि रक्षा विज्ञहरूले भने इरान त्यस्तो प्रविधिबाट अझै केही वर्ष टाढा रहेको बताएका छन्।
पत्रकार सम्मेलनमा ट्रम्पले सैन्य अभियानका मुख्य उद्देश्यहरू इरानको मिसाइल क्षमतालाई ध्वस्त पार्ने, इरानी नौसैनिक शक्तिलाई पूर्ण रूपमा समाप्त पार्ने, तेहरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने र मध्यपूर्वमा इरानले सञ्चालन गर्ने विद्रोही समूहहरूलाई दिइने हतियार र आर्थिक सहयोग बन्द गराउने रहेको बताए ।