npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ: बालेन

नेपालन्युज 3 hours ago

काठमाडौं  । काठमाडौं महानगरपालिकाका प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नेपालको भविष्य सुरक्षित गर्न इमानदार नेतृत्व र दीर्घकालीन सोच अपरिहार्य भएको बताएका छन्।

भूकम्प सुरक्षा दिवसको अवसर पारेर सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक यात्राको पृष्ठभूमि सार्वजनिक गर्दै बालेनले देशलाई अब क्षणिक लोकप्रियताभन्दा दिगो नीति आवश्यक रहेको स्पष्ट पारेका हुन्।
“अब देशलाई अल्पकालीन निर्णय होइन, संकट आउनुअघि तयारी गर्ने दृष्टिकोण चाहिएको छ,” उनले लेखेका छन्।

२०७२ सालको विनाशकारी भूकम्पपछि सिभिल इन्जिनियरका रूपमा देशभर सक्रिय रहेकाले आफूले नेपालका कमजोरी नजिकबाट देखेको बालेनको भनाइ छ। काभ्रेमा मात्रै करिब २५ सय घर पुनर्निर्माणदेखि गोरखा हुँदै ३५ भन्दा बढी जिल्लामा काम गरेको अनुभवले राष्ट्र निर्माण केवल भौतिक संरचनाले मात्र सम्भव नहुने निष्कर्षमा आफू पुगेको उनले बताएका छन्।

“भूगोलसँगै समाजलाई पनि सुरक्षित र सक्षम बनाउनुपर्छ,” उनले उल्लेख गरेका छन्, “राष्ट्र विकास भनेको जनता र भूगोल दुवैलाई जोड्ने बलियो सेतु निर्माण हो।”

बालेनका अनुसार सुरक्षित, दिगो र व्यवस्थित नेपाल बनाउने उद्देश्य नै उनको राजनीतिक सक्रियताको मूल कारण हो।
“नीति यस्तो होस्, जसले संकटअघि तयारी गरोस्। संरचना यस्तो बनोस्, जसले विपद् सहन सकोस्। शासन यस्तो होस्, जसले जनताको विश्वास जितोस्,” उनले लेखेका छन्।

यही बुझाइका कारण भारतमा स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेर पनि सुविधा सम्पन्न देशमा बस्ने अवसर छाडेर स्वदेश फर्किएको उनले बताएका छन्।

काठमाडौं महानगरपालिकामा मेयरको रूपमा काम गर्दा शब्दभन्दा कामलाई प्राथमिकता दिएको दाबी गर्दै बालेनले स्थानीय तहले चाहे जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने काम गर्न सकिन्छ भन्ने उदाहरण स्थापित भएको बताएका छन्।
पारदर्शी प्रणाली, सेवा प्रवाहमा सुधार र संरचनागत परिवर्तनको अभ्यास अब राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्ने समय आएको उनको भनाइ छ।

“विकास भनेको सडक र भवन मात्र होइन,” बालेन लेख्छन्, “देशमै केही गर्न सकिन्छ भन्ने विश्वास जगाउनु हो। संस्थागत सुधार कागजमा होइन, जनताले अनुभूत गर्न पाउनुपर्छ।”

आफ्नो सन्देशको अन्त्यमा बालेनले यो कुनै एक व्यक्तिको अभियान नभई सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा यात्राको रूपमा अघि बढ्नुपर्ने बताएका छन्।
“हाम्रो पुस्तामात्र होइन, आउने पुस्तालाई पनि सुरक्षित र आशालाग्दो देश हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो,” उनले उल्लेख गरेका छन्।

Read more news from नेपाल न्युज

Explore by Source or Category