Sutra News
अन्तत: मिल्यो कांग्रेसको विवाद, कहिले हुन्छ महाधिवेशन ?
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो धेरै दिनदेखि रोकिएको १५औँ महाधिवेशन आगामी पुसको अन्तिम साता आयोजना गर्ने भएको छ। यसका लागि आवश्यक प्रस्तावलाई केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्ने प्रारम्भिक सहमति भएको हो।
आइतबार कार्यबाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सहभागी छलफलमा महाधिवेशन पुस २७–२९ मा गर्ने खाका मिलाइएको हो।
एक नेताका अनुसार, पुस २७ गतेदेखि महाधिवेशन सुरु गर्नेगरी कार्यतालिका बनाउने छलफल भएको हो। अब कार्यबाहक सभापतिले यो प्रस्ताव केन्द्रीय समितिमा लैजाने छन्।
महाधिवेशनको मिति र तयारीमा लामो समयदेखि सहमति जुट्न नसक्दा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक निरन्तर स्थगित हुँदै आएको छ। स्थगित बैठक अब भोलि बस्ने तय भएको छ।
उता, पार्टीको इतर पक्षले प्रस्तावित कार्यतालिका आएपछि मात्रै अन्य विषयमा आफ्नो धारणा स्पष्ट गर्ने संकेत दिएको छ।