npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

हामी विविध छौँ तर एउटै छौँ : प्रधानमन्त्री कार्की

नेपालन्युज 5 hours ago

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले बिहीबार आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी छन्।

थारू कल्याणकारिणी सभालगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा काठमाडौँको टुँडिखेलमा आयोजना गरेको सभामा कार्कीले विभिन्न सांस्कृतिक झाँकीको अवलोकन पनि गरिन्। ‘थारू कला-संस्कृति हाम्रो पहिचान‚ यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा मौलिक कला तथा संस्कृति झल्किने झाँकी प्रस्तुत गरिएका थिए।

प्रधानमन्त्री कार्कीले औलोसँग जुध्दै तराईंलाई आवाद बनाउने कर्मशील थारू समुदायसँग आफ्नो पनि आत्मीय सम्बन्ध रहेको बताइन्। उनले भनिन्‚ “मेरो बाल्यकाल थारू समुदायका साथीहरूसँगै बितेको छ। थारू भान्सामा पाक्ने प्रत्येक परिकारको स्वाद मेरो जिब्रोमा भिजेको छ। त्यसैले माघी पर्व मेरा लागि पनि विशेष पर्व हो।”

यो पनि…

माघीको उल्लास

विभिन्न समुदायहरूले फरक-फरक नाम‚ शैली र परम्पराअनुसार यो चाड मनाए पनि त्यसको मर्म एउटै रहेको उनको भनाइ छ। “हामी विविध छौँ‚ तर एउटै छौँ। हामी बहुल छौँ‚ तर सँगै छौँ। हामी धेरै भएर नै पूर्ण छौँ‚” उनले भनिन्। विश्व मानचित्रमा नेपाल एकता‚ सद्भाव र सह-अस्तित्वको अनुपम उदाहरण बनेर उभिएको र यही नै हाम्रो मौलिक पहिचान तथा शक्ति रहेको उनको भनाइ थियो।

कार्कीले आपसी सद्भाव‚ विश्वास र सहकार्यका माध्यमबाट मुलुकलाई शान्ति‚ स्थायित्व र समृद्धितर्फ अग्रसर गराउन भूमिका खेल्न पनि सबैलाई आह्वान गरिन्। “वर्तमान विशिष्ट परिस्थितिमा हामी सबै अझ संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ। त्यसकारण‚ यस्ता सांस्कृतिक पर्वहरूको मर्म आत्मसात् गर्दै समाजमा शान्ति‚ सहिष्णुता‚ सद्भाव र राष्ट्रिय एकता कायम गर्न सरकार‚ समुदाय र नागरिक सबैले आ-आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्नुपर्छ।”

Read more news from नेपाल न्युज

Explore by Source or Category