npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

इरानमाथि आक्रमण गर्न स्पेनले दिएन अमेरिकालाई सैन्य अड्डा

नेपाल न्युज 4 hours ago

म्याड्रिड। स्पेनले आफ्नो भूमिमा रहेका सैन्य अड्डाहरू इरानविरुद्धको आक्रमणका लागि प्रयोग गर्न अमेरिकालाई अनुमति दिन इन्कार गरेको छ।

स्पेन सरकारले ‘रोटा’ र ‘मोरोन’ मा रहेका आफ्ना संयुक्त सैन्य अड्डाहरू इरानविरुद्धको जारी हमलामा प्रयोग गर्न नदिने निर्णय गरेपछि अमेरिकालाई सामरिक धक्का लागेको छ।

स्पेनको समाजवादी सरकारले अमेरिका र इजरायलद्वारा इरानमाथि भइरहेको सैन्य कारबाहीलाई “अन्यायपूर्ण र खतरनाक” भन्दै यसको निन्दा समेत गरेको छ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले अमेरिका र इजरायलको सैन्य कदमलाई एकपक्षीय भन्दै विरोध गरे। उनले यस्ता गतिविधिले अन्तर्राष्ट्रिय व्यवस्थालाई थप शत्रुतापूर्ण र अनिश्चित बनाउने चेतावनी दिएका छन्।

स्पेनका विदेश मन्त्री जोसे मानुएल अल्बारेसले सोमबार सञ्चारमाध्यमहरूसँग कुरा गर्दै स्पेन इरानी जनताको लोकतन्त्र, स्वतन्त्रता र मौलिक अधिकारको पक्षमा रहेपनि कुनै हालतमा युद्धका लागि आफ्नो भूमि प्रयोग गर्न नदिने प्रष्ट पारे।

मन्त्री अल्बारेसले भने, “हाम्रा अड्डाहरू अमेरिकासँगको सम्झौता र संयुक्त राष्ट्र संघको बडापत्रले तोकेको दायराभन्दा बाहिरका कुनै पनि कार्यका लागि प्रयोग भएका छैनन् र हुने पनि छैनन्।”

स्पेनको यो कडा अडानले युरोप र उत्तर अमेरिकी देशहरूको सैन्य गठबन्धन ‘नेटो’ सम्बद्ध राष्ट्रहरूबीच इरान मामिलालाई लिएर मतभेद रहेको उजागर गरेको छ। म्याड्रिडले सैन्य हस्तक्षेपको सट्टा कूटनीतिक समाधान खोजिनुपर्नेमा जोड दिँदै आएको छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category