npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

दक्षिण अफ्रिका विजयी, जिम्बाब्वेका राजाको अलराउन्ड प्रदर्शन

Prakash Timalsina 2 days ago

एजेन्सी – जिम्बाब्वेका सिकन्दर राजा को अलराउन्डर प्रदर्शन गरेपनि टोलीले विश्वकप सुपर एटमा दक्षिण अफ्रिका विरुद्ध जित निकाल्न सकेन‌ ।

राजाले ब्याटिङ र बलिङ दुवैमा शानदार प्रदर्शन गरे । दक्षिण अफ्रिका जारी विश्वकपमा अपराजित रहँदै अर्को जित निकाल्न सफल भयो।

राजाको दमदार प्रदर्शन

सुपर एटको अन्तिम खेलमा राजाले ४३ बलमा ८ चौका र ४ छक्कासहित ७३ रन बनाए। उनले टोलीको कुल स्कोरको झन्डै आधा रन एक्लैले जोडे।

सुरुआतमा जिम्बाब्वेले राम्रो खेल्यो। पहिलो ओभरमा नै चौका र छक्का प्रहार भए। तर त्यसपछि नियमित रूपमा विकेट झरिरहे।
राजाले आक्रामक खेल जारी राख्दै १४ बलमा ३१ रन पुर्‍याए। उनले २९ बलमा अर्धशतक पूरा गरे। एक समय जिम्बाब्वे १ सय ७० रन आसपास पुग्ने देखिएको थियो।

तर ७३ रनमा आउट भएपछि टोलीको गति रोकियो। अन्ततः जिम्बाब्वेले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रन बनायो।

बलिङमा पनि प्रभाव

१ सय ५४ रनको लक्ष्य जोगाउने क्रममा राजाले नै पहिलो ओभर बलिङ गरे। उनले पहिलो ओभरमै क्विन्टन डि ककलाई क्याच गराए। त्यसपछि एडेन मार्करमलाई बोल्ड गर्दै विपक्षीलाई दबाबमा राखे।

६ ओभर सकिँदा दक्षिण अफ्रिका ४३ रनमा ३ विकेट गुमाएर समस्यामा थियो। तर त्यसपछि डेवाल्ड ब्रेभिस र डेभिड मिलरले आक्रामक खेल देखाए। ब्रेभिसले टोलीका लागि सर्वाधिक ४२ रन जोडे। मिलरले पनि तीव्र गतिमा रन जोड्दै टोलीलाई लक्ष्य नजिक पुर्‍याए।

अन्त्यमा जर्ज लिन्दे र ट्रिस्टन स्टब्सले संयमित खेल खेल्दै १७.५ ओभरमै ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरे। दक्षिण अफ्रिकाले ५ विकेटले जित हात पार्‍यो। राजाले ३ विकेट लिए। दक्षिण अफ्रिकाले मार्च ४ मा कोलकातामा न्यूजिल्यान्ड विरुद्ध पहिलो सेमिफाइनल खेल्नेछ।

The post दक्षिण अफ्रिका विजयी, जिम्बाब्वेका राजाको अलराउन्ड प्रदर्शन first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category