आज पनि ४ अंकले सेयरबजार घट्यो‚ कारोबार रकम कति?
काठमाडौँ। अघिल्लो साताभर बढेको सेयर बजार यो साता भने ओरालो लागिरहेको छ। साताको पहिलो कारोबार दिन आइतबार २६.५१ अंकले घटेको नेप्से आज (सोमबार) पनि ४.२८ अंकले घटेको छ।
आज ०.१६ प्रतिशतले घटेको सेयर बजार २६४५.२४ विन्दुमा रोकिएको छ। यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १.७२ अंकले घटेर ४५५.२६ विन्दुमा रोकिएको छ। आज ३२५ कम्पनीको ६० हजार ६२० पटकको कारोबारमा एक करोड आठ लाख ६० हजार ८२८ कित्ता सेयर किनबेच भए। जसमा आज चार अर्ब ७१ करोड ६३ लाख ८३ हजार ५८० रुपैयाँको कारोबार भयो । हिजो (आइतबार) भने सात अर्ब आठ करोड ५४ लाख ४९ हजार ४३३ रुपैयाँबराबरको कारोबार भएको थियो।
नेप्सेमा आज पाँचवटा समूहको मात्र सूचक बढ्दा बाँकी सबै घटे। सोमबार १२४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२६ कम्पनीको घट्यो। साथै आठ कम्पनीका सेयर मूल्य स्थिर रह्यो।
आज सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार भएको छ। आज यस कम्पनीको २७ करोड १० लाख तीन हजार १८० रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ५९१ रुपैयाँ रह्यो।