अधिकारकर्मी सुभाष कट्टेललाई अन्तर्राष्ट्रिय शान्ति पुरस्कार
काठमाडौँ । दुई दशकदेखि शान्ति, अहिंसा र मानव अधिकारको वकालतमा क्रियाशील नेपाली अभियन्ता सुभाष कट्टेल प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘माया कोएने अन्तर्राष्ट्रिय शान्ति पुरस्कार’ बाट सम्मानित भएका छन्।
स्विट्जरल्याण्ड र भारतमा मुख्यालय रहेको संस्था ‘सेन्टर फर एक्स्पिरियन्सिङ सोसियो-कल्चरल इन्टरयाक्सन्स’ ले कट्टेलले अन्तर्राष्ट्रिय स्तरमा निर्वाह गरेको सक्रिय भूमिकाको कदर गर्दै यो अवार्ड प्रदान गरेको हो।
इलामको देउमाई नगरपालिका, जितपुर नवमीका स्थायी बासिन्दा उनी हाल इजरायलमा शान्ति अभियानमा क्रियाशील छन्।
विशेषगरी द्वन्द्व व्यवस्थापन, सामाजिक न्याय र अहिंसात्मक आन्दोलनका क्षेत्रमा उनले पुऱ्याएको विशिष्ट योगदानलाई संस्थाले उच्च मूल्याङ्कन गरेको छ।
सन् २००० मा स्थापना भएको यो पुरस्कार स्विट्जरल्याण्डकी प्रख्यात फोटो पत्रकार तथा नागरिक अधिकारकर्मी माया कोएनेको स्मृतिमा प्रदान गरिँदै आएको छ।
माया कोएनेले भारतका भूमिहीन र गरिब समुदायको अधिकारका लागि ‘एकता परिषद’ जस्ता अभियानहरूलाई विश्वभर चिनाउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्। उनकै सम्मानमा स्थापित यो अवार्ड विश्वभरका अहिंसा र शान्ति अभियन्ताहरूका लागि निकै सम्मानित मानिन्छ।
कट्टेलले करिब २० वर्षदेखि नेपाल र अन्तर्राष्ट्रिय मञ्चमा मानव अधिकारको प्रवर्द्धन, द्वन्द्वपछिको शान्ति प्रक्रिया र सामाजिक सद्भावका लागि निरन्तर काम गर्दै आएका छन्। उनको यो उपलब्धिले नेपाली मानव अधिकार अभियानलाई विश्व बजारमा थप गौरवपूर्ण स्थान दिलाएको छ।
कट्टेल यो सम्मानबाट विभूषित भएपछि उनको परिवार, शुभचिन्तक र मानव अधिकार क्षेत्रका व्यक्तिहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। यो अवार्डले आगामी दिनमा शान्ति र न्यायका लागि थप ऊर्जा मिल्ने विश्वास गरिएको छ।