npl.977 Nepal News Stream

Taksar News logo Taksar News

‘सेभेन समिट’ पूरा गरेका कीर्तिमानी आरोही हरि बुढा नेपाल फर्किए, बाजागाजसहित स्वागत (फाेटाे फिचर)

पुष्पा पाल 4 hours ago

काठमाडौँ। कीर्तिमानी आरोही हरि बुढा ‘सेभेन समिट’ अभियान सफलतापूर्वक पूरा गरी आज दिउँसो नेपाल फर्किएका छन्। सातै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने आफ्नो लक्ष्य पूरा गरेपछि उनी अन्टार्कटिकाबाट नेपाल आइपुगेका हुन्।

नेपाल आगमनमा थवाङ समाज काठमाडौँ, नेपाल मगर संघ, रोल्पा मगर काठमाडौँ समिति लगायतका संस्थाहरूको नेतृत्वमा उनलाई बाजागाजासहित स्वागत गरिएको थियो। साथै उनी आज माघे सङ्क्रान्तिको अवसरमा टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा पनि उपस्थित हुन् पुगेका छन् ।

अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सन ४,८९२ मिटर सफलतापूर्वक आरोहण गरेपछि बुढामगरले सेभेन समिटको सपना साकार पारेका छन्। उनका अनुसार, उनको टोली सन् २०२६ जनवरी ६ गते राति १० बजे माउन्ट भिन्सनको शिखरमा पुगेको थियो। यससँगै पूर्व गोर्खा सैनिक बुढामगर विश्वका सातै उच्च शिखर आरोहण गर्ने पहिलो ‘डबल एम्प्युटी एबोभ निल’ व्यक्ति बनेका छन्।

अन्टार्कटिकाको सर्वोच्च शिखर आरोहणमा बुढामगरसँग अविरल राई, मिङ्मा शेर्पा र आरोहण नेता जाङ्बु शेर्पा सहभागी थिए।

बुढामगरले सगरमाथा आरोहणबाट आफ्नो सेभेन समिट अभियान सुरू गरेका थिए। विसं २०८० जेठ ५ गते उनले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी अभियानको पहिलो ऐतिहासिक कदम चालेका थिए।

रोल्पाको थवाङ गाउँपालिका, मिरुल घर भएका बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए। सन् २०१० मा अफगानिस्तानमा ड्युटीका क्रममा उनी आफ्ना दुवै खुट्टा घुँडामाथिबाट गुमाएका थिए। तर, कठिन परिस्थितिलाई चुनौतीको रूपमा स्वीकार गर्दै उनले विश्व पर्वतारोहण इतिहासमा उदाहरणीय सफलता हासिल गरेका छन्।

Read more news from Taksar News

Explore by Source or Category