पेट्रोलियम पदार्थको बिक्री ८८% सम्म वृद्धि, आइतबार मात्र १० हजार ७०० किलोलिटर
काठमाडौं। इन्धनको बिक्री ८८ प्रतिशतसम्म बढेको छ। चुनावी माहोल र करिब एक साता सार्वजनिक बिदा रहेका कारण आइतबार इन्धन बिक्री ह्वात्तै बढेको हो।
नेपाल आयल निगमका अनुसार सामान्य अवस्थाको तुलनामा आइतबार पेट्रोलको बिक्री ८८ प्रतिशत र डिजलको बिक्री ५० प्रतिशतसम्म बढेको छ।
निगमले पेट्रोल आइतबार ४ हजार ७०० किलोलिटर बिक्री भएको जनाएको छ। सामान्य अवस्थामा दिनमा २५०० किलोलिटर पेट्रोल खपत हुने गरेको थियो।
यस्तै डिजल आइतबार ६००० किलोलिटर बिक्री भएको छ। सामान्य अवस्थामा दैनिक ४००० देखि ४५०० किलोलिटर डिजल खपत हुने गरेको थियो।
थानकोट डिपोबाट मात्रै आइतबार १६५० किलोलिटर पेट्रोल र १२५० किलोलिटर डिजल बिक्री भएको छ। होलीका कारण सोमबार ५३ जिल्लामा बिदा छ भने मंगलबार २४ जिल्लामा बिदा हुनेछ।
चुनावका लागि बुधबारदेखि शुक्रबारसम्म सार्वजनिक बिदा दिइएको छ। फागुन २४ गते पनि नारी दिवसका कारण सार्वजनिक बिदा छ। बिदा लामो भएकै कारण आइतबार इन्धनको बिक्री ह्वात्तै बढेको हो।
निगमले इन्धन नियमित रुपमा आपूर्ति भइरहेको भन्दै भण्डारण नगर्न आग्रह गरेको छ।
The post पेट्रोलियम पदार्थको बिक्री ८८% सम्म वृद्धि, आइतबार मात्र १० हजार ७०० किलोलिटर appeared first on BIZMANDU.