Sutra News
गगन समूहलाई ‘मूल कांग्रेस’मा फर्किन शेखरको आह्वान
काठमाडौं । विशेष महाविधेशन गर्दै पार्टीको वैधानिकता लिने होडमा अघि बढेको गगन थापा समूहलाई ‘मूल कांग्रेस’मा फर्किन नेता डा. शेखर कोइरालाले आह्वान गरेका छन् । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले समीक्षा मूल घरभित्रै हुने बताएका छन् ।
उनले भनेका छन्, ‘म आह्वान गर्छू– हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं, यहाँ जीतहार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ ।’
कांग्रेस विभाजन गराउन राष्ट्रिय तथा अन्तराष्ट्रिय सबै खालका षडयन्त्र भएको उनको भनाई छ । जसलाई रोक्न आफूहरु असक्षम बनेको उनले बताएका छन् ।
‘यस बीचमा घटेका कैयन घटनाहरुको साक्षी भएकोले यस दुर्घटनाको वस्तुपरक समीक्षा र यसमा व्यक्तिको भूमिका बारे मूल्यांकन गर्ने जिम्मेवारी म इतिहासमा सुम्पन्छु,’ उनले अगाडि भनेका छन्, ‘देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट हामी यसबीच गुज्रियौँ । राजधानीमा षडयन्त्रको अनेकन् राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ ।’
कांग्रेस विभाजनको यो खण्डमा उनले बीपी कोइरालालाई स्मरण पनि गरेका छन् । ‘बीपी कोइरालालाई जीउ ज्यानको बाजी लगाएर साथ दिने लाखौं साथीहरु पार्टीमा अविचलित भएर लोकतन्त्रको संघर्षमा अथकित भै संघर्षरत रहे, तर केही व्यक्ति र समुह विपीलाई छाडेर गए । उहाँ यसलाई नियतिको खेल भन्नुहुन्थ्यो’, उनले भनेका छन् ।
यस्तो छ कोइरालाको विज्ञप्ति
