Sutra News
निर्वाचन आयोगमा गगन र देउवा दुवै समूहको प्रदर्शन, सुरक्षा व्यवस्था कडा
काठमाडौं । निर्वाचन आयोग परिसरमा कांग्रेसको आधिकारिकताको दाबी गरेका शेरबहादुर देउवा र गगन थापा दुवै समूहले प्रदर्शन गरेका छन् ।
शुक्रबार बिहानदेखि नै दुवै समूह नेता तथा कार्यकर्ता आयोग पुगेर कांग्रेसको आधिकारिकता दाबी गरिरहेका छन् । आयोग पदाधिकारीमाथि दबाब सिर्जना गर्न दुवै समूहका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् ।

गत पुस २७ देखि चार दिनसम्म काठमाडौंमा चलेको दोस्रो विशेष महाधिवेशनले सभापतिमा गगन थापालाई चयन गर्दै उनको नेतृत्वमा नयाँ कार्यसमितिलाई निर्वाचित गरेको थियो । सभापतिमा गगनसहित कांग्रेसको पदाधिकारी र केन्द्रीय कार्यसमिति विवरणलाई अद्यावधिक गर्न गगन समूहले निवेदन दिएपछि आधिकारिकतामाथि दुवै समूहको दाबी परेको छ ।
गगन समूहले बिहीबार दाबी प्रस्तुत गर्दा देउवा समूहले शुक्रबार दाबी पेस गरेको छ । तर, शुक्रबार बिहानैदेखि निर्वाचन कार्यालय परिसरमा कांग्रेस नेता कार्यकर्ताको भीड लागेको छ ।
आयोगको परिसरमा विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा पक्षका पदाधिकारी तथा नेताहरू धर्नामा बसेका छन् भने आयोगको गेट बाहिर गगन र देउवा समूहका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन्। उनीहरुले नाराबाजी गरिरहेका छन् ।
दुवै पक्षको नाराबाजी भएपछि आयोग परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रदर्शन नियन्त्रण बाहिर जान लागेमा प्रयोग गर्न भन्दै ’वाटरक्यानन’समेत तयारी अवस्थामा राखिएको छ ।