नयाँबानेश्वरमा टिपरको ठक्करबाट एक सरकारी कर्मचारीको मृत्यु
इन्द्र कमल रोक्का
|
16 hours ago
काठमाडौँ ।काठमाडौंको नयाँ बानेश्वरमा मृत्यु हुने व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मृतक सुनसरीको इनरुवा नगरपालिका– ५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ४८ वर्षका बद्रि कोइराला हुन् । उनी नायब सुब्बा पदका कर्मचारी भएको खुलेको एसपी भट्टराईले जानकारी दिए ।
प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी नम्बरको स्कुटरमा सवार कोइरालालाई आज बिहान ८:४५ बजे बा. २ क ३२२९ नम्बरको टिपरले सिभिल अस्पताल अगाडि ठक्कर दिएको थियो । फोहोर बोक्ने टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो ।
उनलाई बिहान ८:५५ बजे चिकित्सकले मृत घोषणा गरेको एसपी भट्टराईले जानकारी दिए ।