अमेरिकाले ‘इमिग्रेन्ट भिसा’ प्रक्रिया रोक्ने देशको सूचीमा नेपाल पनि, को हुनेछन् प्रभावित ?
काठमाडौं । अमेरिकाले जनवरी २१ देखि ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले ७५ देशका नागरिकलाई ‘इमिग्रेन्ट भिसा’ प्रक्रिया रोक्ने घोषणा गरेको हो।
रोयटर्सका अनुसार यो निर्णयबाट प्रभावित हुने देशको सूचीमा नेपाल पनि छ। यसअघि अमेरिकाले बी१ र बी २ भिसाका लागि नेपाली नागरिकले ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्ने भनेको थियो। अहिले भने अमेरिकाले आप्रवासी भिसा प्रक्रिया नै स्थगित गर्ने तयारी गरेको हो।
७५ देशको सूचीमा धेरैजसो अफ्रिकी, क्यारेबियन र दक्षिण एसियाली देश छन्। दक्षिण एसियाबाट नेपालसहित भुटान, बंगलादेश, पाकिस्तान र अफगानिस्तान यो सूचीमा छ। कम र मध्यम आय भएका देशका नागरिक अमेरिकामा आएर आश्रित भएको भन्दै यो निर्णय गरिएको भनिएको छ।
आप्रवासी भिसा प्रक्रिया गर्ने निर्णय अमेरिकी जनताको हितका लागि गरिएको त्यहाँको विदेश मन्त्रालयले भनेको छ। नयाँ आप्रवासीहरुले अमेरिकी जनताको सम्पत्ति र स्रोत शोषण नगर्ने सुनिश्चित नभएसम्म यो रोक लागू हुने मन्त्रालयले एक्समार्फत भनेको छ।
The State Department will pause immigrant visa processing from 75 countries whose migrants take welfare from the American people at unacceptable rates. The freeze will remain active until the U.S. can ensure that new immigrants will not extract wealth from the American people.
— Department of State (@StateDept) January 14, 2026
अमेरिकामा आएपछि सरकारी राहत वा कल्याणकारी योजनाहरुमा आश्रित हुन सक्ने सम्भावना भएका आवेदकहरुलाई रोक्न यो कदम चालिएको बताइएको छ।
को हुनेछन् प्रभावित?
यो रोक मुख्यतय स्थायी रुपमा अमेरिका बस्न जाने भिसा (इमिग्रेन्ट भिसा) मा लागू हुने भनिएको छ। यसबाट पारिवारिक भिसा र रोजगारीमा आधारित ग्रिन कार्ड प्रक्रियाबाट अमेरिका जान चाहनेहरु प्रभावित हुनेछन्। यो निर्णय सँगै अब डिभी लटरी स्किममार्फत हुने प्रक्रिया रोकिने जनाइएको छ।
ट्रम्पको यो निर्णयले नेपालबाट स्थायी रुपमा अमेरिकामा बस्न जान चाहनेहरु सबैभन्दा बढी प्रभावित हुने भएका छन्। अमेरिकामै रहेका छोराछोरी, आमाबुबासँग बस्न उतै जान आप्रवासी भिसा निवेदन दिन अब पाइनेछैन्।
त्यस्तै, अमेरिकी नागरिकसँग विवाह गरेर उतै स्थायी रुपमा बस्न भिसा आवेदन दिन पनि अब गाह्रो हुनेछ।
पर्यटक, व्यवसायिक र विद्यार्थी भिसामा भने यो नियम लागू हुने छैन। यद्यपि, नेपाल भिसा बन्ड राख्नुपर्ने देशको सूचीमा पनि रहेकोले बी१ र बी २ भिसा लिएर व्यापार र मनोरञ्जनका लागि अमेरिका जान चाहनेका लागि कठिन हुनेछ।
धरौटी राखेर बोस्टन लोगन, जोनएफ केनेडी र वासिङ्टन डल्लास, न्यूवार्क लिवर्टी, हार्टस्फिल्ड ज्याक्सन एट्लान्टा, सिकागो ओहारे र लस एन्जसल अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि अमेरिका प्रवेश र बाहिरिन सकिने अमेरिकी सरकारले जनाएको छ।
त्यस्तै, क्यानडाको टोरोन्टो पर्सन अन्तर्राष्ट्रिय विमानस्थल र मोन्ट्रेल पियररी एलियट ट्रडो अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पनि अमेरिका प्रवेश र बाहिरन सकिने भएको छ।
बी१ र बी२ भिसा पाउनेहरुले यी विमानस्थल बाहेक अन्य बाट प्रवेश र बाहिरन पाउनेछैनन्।
दोस्रो कार्यकालका लागि राष्ट्रपति भएर आएपछि डोनाल्ड ट्रम्प आप्रवासी प्रति अनुदार देखिएका छन्। ट्रम्प प्रशासनले हालसम्म १ लाख बढीको भिसा रद्द गरिसकेको छ र ६ लाख बढी व्यक्तिलाई पक्राउ गरेर डिपोर्ट पनि गरेको छ। २० लाख बढी आफै अमेरिकाबाट फर्किएका छन्।
रोयटर्समा प्रकाशित आप्रवासी भिसा प्रक्रिया रोकिने देशको सूची

The post अमेरिकाले ‘इमिग्रेन्ट भिसा’ प्रक्रिया रोक्ने देशको सूचीमा नेपाल पनि, को हुनेछन् प्रभावित ? appeared first on BIZMANDU.