PalikaNews
क्षेत्रगत फोहर व्यवस्थापनका लागि काठमाडौं महानगर तथ्याङ्क सङ्कलन गर्दै
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले क्षेत्रगत रूपमा फोहर व्यवस्थापन गर्न ३२ वटै वडामा तथ्याङ्क सङ्कलन गरिरहेको छ । फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित वडालाई सातवटा क्षेत्रमा विभाजन गरी सुरु गरिएको तथ्याङ्क सङ्कलनको काम अन्तिम चरणमा पुगेको हो ।
कामपाको वातावरण व्यवस्थापन विभागका सिभिल इञ्जिनियर रामप्रसाद नेपालका अनुसार विभाजन गरिएका क्षेत्रहरूको फोहर उत्पादनको अवस्था, उत्पादनको स्रोत, मात्रा र व्यवस्थापन प्रक्रियासम्बन्धी विवरण सङ्कलन भइरहेको छ । सातमध्ये क्षेत्र नम्बर १, २, ३, ४, ५ र ६ को तथ्याङ्क सङ्कलन सम्पन्न भइसकेको छ भने क्षेत्र नम्बर ७ मा पर्ने भित्री वडाहरूको तथ्याङ्क सङ्कलन मात्र बाँकी छ, उनले भने, ।
सबै वडाको तथ्याङ्क प्राप्त भएपछि त्यसैका आधारमा नयाँ ढाँचामा फोहर व्यवस्थापन सुरु गरिने इञ्जिनियर नेपालले जानकारी दिए । फोहर व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन प्रत्येक क्षेत्रमा एक–एकवटा ‘ट्रान्सफर स्टेशन’ निर्माण गरी त्यहाँबाट फोहरको अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पठाइने व्यवस्था गरिनेछ ।
हाल काठमाडौँ महानगरपालिकाका २३ स्थानीय तहबाट उत्पादित फोहर सिधै बञ्चरेडाँडा लैजाँदा प्रदूषण बढ्नुका साथै ढुवानी खर्चसमेत उच्च भएकाले क्षेत्रगत रूपमा वर्गीकृत फोहर व्यवस्थापन प्रणाली लागू गर्न लागिएको हो । यस क्रममा फोहर उत्पादन गर्ने पक्षलाई समेत व्यवस्थापनको जिम्मेवारी दिन तयारी भइरहेको महानगरपालिकाले जनाएको छ ।
फोहरमैला व्यवस्थापन ऐन, २०६८ तथा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार स्रोतमै फोहर वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । हाल वडा नम्बर ५, १०, २४, २५, २६ र २७ मा स्रोतमै फोहर वर्गीकरण भइरहेको छ ।
महानगरपालिकाले अन्य वडामा पनि स्रोतमै फोहर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने तयारी गरिरहेको जनाएको छ । स्रोतमै वर्गीकृत फोहरमध्ये करिब २० प्रतिशत मात्र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पठाइने र बाँकी फोहर सेवा प्रदायकमार्फत व्यवस्थापन गरिनेछ ।